Tuesday, October 21, 2014

हर्कमानको बिहे

संप्रस पौडेल दिवस
आमाको सालसंगै झरेपछि नै बेहाल जिन्दगी लिएर हालसम्म धान परालसरी बाँच्दै मर्दै गरिरहेको हुँदा अब काल करालको पर्खाई मात्र बाँकी रहेजस्तो लाग्छ भन्ने हर्कमानका जुँगा फुलेर झर्न लागे । उनका जवानीका कुरा सोध्दा आठ कक्षा पढ्दापढ्दै हाम्रो राजनीति थाङ्ने भयो त्यसैले हामी माग्ने भयौं, अब आमूल परिवर्तन ल्याउनुपर्छ भन्ने विद्यार्थी नेताका पछि लागेरै ब्रह्मचारी हुन पुगेको कुरो सुनाउँथे । प्रतिप्रश्न गर्थे, “ब्रह्मचारीका पनि केका जवानीका कुरा भाई ?” थप्थे, “कितापसिसताप बाँसा झ्याङ्गमा फालेर राज्यको झण्डाले आची पुछ्दै दलको झण्डा बोक्न गइयो । त्यत्तिले त आज घरको न घाटको भइयो ।बेलाबेलामा हुने हानाहानमा सहभागिता जनाएपछि राष्ट्रियगान बिर्सेर सानोतिनो चियापान र भट्टिगानमा समेत उनी सामेल हुन्थे अरे । सहमति, सहकार्य र सद्विश्वासलाई चारपाटा मुडेर गोर्खेलौरी लाउँदै दैलोबाट खेदे पनि राजनीतिक धर्मले जनकपुर, आम्दानीले टनकपुर, जवानीले भरपूर हुँदासम्म र एउटी जिवनसंगिनी भने जीवनमै नपाउँदा खिन्न लाग्छ भन्थे ।


पाउनेहरुले भनेछन् के के न पाइयो भनेको चुइँगम चपाइयो, लास्टाँ पो थाहा पाइयो, हत्तेरिका बेकार खाइयो ।धारो, पँधेरो, गोठालो, भट्टिदेखि मन्दिर, कलेजका गेटदेखि डेटिङ स्पटसम्म तारेख धाउँदा पनि स्वास्नी नपाइएपछि कुकुरले नपाको दुख पाइयो अरे । केटी हेर्न जाँदा केटीपट्टिकाले भने बाँसको झ्याङ्गमा कहिले लोखर्के बस्छ कहिले न्याउरी तर बास बस्ने झुपडी र कमाउने खोपडी नभएकालाई कसले छोरी दिने ?” भन्दै लघारेछन् ।
किताबको गाताभन्दा राजनीतिको पापा मिठो सम्झेर गरिएको खेतिमा मलजल गर्ने माली नै नपाएपछि बाँझै बसेको घरबारी र थारो रहेको बाली जस्तो जिन्दगी नै धिक्कार भएको थियो उनको । कुनै जमानामा राजनीति गर्नेलाई केटी दिनेहरुको घुँइचोले सगरमाथा छुन्थ्यो । आजकल कार्यकर्ता र भोटरले नै पत्याउन छोडिसके । फलस्वरुप आज देशमा अरुबाट जोगिन, उम्किन, फुत्किन, चुक्ली मार्न, दाउ पार्न, खोचे थाप्न र सीमा चाप्न मात्रै राजनीति हुन्छ भन्थे उनी ।

सरकारी सम्पत्ति तोडफोडमा झ्यालखाना परी सरकारी उपियाँले टोकी वीरगति पाउनेलाई सहिद बनाउँथे उनी । उनी थप्थे, “विरोधीलाई प्रतिगामी भनाइयो, संसदमा आचीसरी गन्हाइयो । पूजारीलाई लात मार्नु र पुत्ला जलाउँदै कोरा बार्नुको के कुरा गर्नु ? कसैको घाँटीको गाँड फोरियो, कसैको ढाड दायाँबाट बायाँ मोडियो । चन्दा, सहयोग, दानको नाउँमा चोर्नु चोरियो, जोड्नु जोडियो । तैपनि श्रीमती भन्ने चिज चन्दा मागेर नपाउने, चोरेर दिगो नहुने भएपछि के गर्नुछ र ?”

स्वास्नी हुनेले दशक अघि सुत्केरी भत्ता पाए । चुनाउ लगत्तै भेटमा हर्कमान भन्थे, “यहाँ ल्याङ्ल्याङ् गरेर बस्नुभन्दा म्याजिक चप्पलझैं चुइकिउँ र कुटनीतिक पासपोर्ट बेचेर विदेशतिरै हुइँकिउ भन्ने विचार नआएको कहाँ हो र ? तैपनि घर एउटीलाई जिम्मा लाउन पाए भन्ने मनको तुष । विष भाङ खाने शिवजीले स्वास्नी पाउने, आठ ठाउँ भाँचिएका अष्टाबक्रले स्वास्नी पाउने, डुकुलण्ठुले सुध्रिनलाई स्वास्नी पाउने, विद्यार्थीले संगै टाँसिएर हिँड्न पाउने, मास्टरसापदेखि डाक्टरसापसम्मले स्वास्नी पाउने राजनीति गर्नेले किन नपाउने ? गाउँतिर संगैका साथीसंगीहरु भुतुमुने छोरा खेलाएर बस्न लागे । छोरीका कपालमा जुम्रा केलाउन लागिसके । चिनेजानेका ठिटाहरु रसिला र ठिटीहरु भरिला भैसके यत्रो विघ्न हुँदासम्म राजनीति गर्नेले चैं बिहे गर्नै नपाउने ?” आज बिहान अखबार पढ्दा पढ्दै एउटा गजबकै समाचारमा आँखा पुग्यो । सभासदको जागिरी पाएपछि हर्कमानलाई पिताम्बर काकाले छोरी दिएछन्, त्यो पनि एक वर्षभित्रैमा संविधान र नाती/नातिना सहित पहिलो भेट गर्न ससुराली आउने शर्तमा । अस्तु ।

२०७०, मध्यस्थता साप्ताहिक

No comments:

Post a Comment

तपाईँलाई यो सामग्री कस्तो लाग्यो ? कृपया कमेन्ट गर्नुहोस् ।

च्वास्स २