Wednesday, July 27, 2016

गरिखानेको होइन, मरिजानेको देश

डाक्टर गोविन्द केसीका मागलाई राजनीतिक बनाइएको सम्बन्धमा उठेका विविध प्रसंगबारे समृद्ध समाज दैनिकमा प्रकाशित आफ्नै लेखः
– संप्रस पौडेल
२०७३ श्रावण ६
नेपालमा एउटा उखान खुबै चल्तीको छ, "कानुनका नौ सिङ हुन्छन् ।" जन्माउँदा नै नौ सिङे बनाइन्छन् कानूनहरु । यसैले पनि "नेपालको कानून जसले बनायो उसैले जानून्" भनिन्छ ।
प्रसंग स्वास्थ्य क्षेत्रको हो, के यो देशमा करोडौं घुस खाने छैनन् । सँधै केही हजार र लाख घुस खाएको आरोपमा खरिदार र सुब्बा मात्रै अख्तियारले समातिनुपर्छ भन्ने छ ? अख्तियारद्वारा चिठी काटेपछि मिडियाबाजी गराएर उन्मुक्ति पाउँने माधव नेपाल, प्रचण्ड, केपि शर्मा वली, देउवाहरु कुन ग्रहका प्राणी हुन् ?
 रकम खाने मात्र होइन, परिवर्तनका नाममा पद, कुर्सी र सत्ता मात्रै ताकेर देशलाई दशकौं पछाडि पनि त अनैतिक कार्य नै होला नि ! सोझालाई शुली र चोरलाई चौतारोमा सम्मान गर्ने राजनीतिज्ञ भएसम्म यो देशका शासकलाई सतिले मात्र होइनन्, नन्दप्रसादहरुले पनि सरापिरहन्छन् । गोविन्द केसी त पछिल्ला एक पात्र मात्रै हुन् । राजनीतिलाई सार्वजनिक र निशुल्क सेवा भन्ने बिर्सेर मागी खाने भाँडो ठानेसम्म सतिको देशमा कसैको मति सुध्रने होइन ।

राज्यका विभिन्न तहतप्कामा रहेर सर्वशक्तिमान बनेकाहरु रुघा लाग्दा र पेट दुख्दा लाखौंको सरकारी खर्च गराएर स-परिवार विदेशमा उपचारमा जाने परम्परा नयाँ होइन । नेपालमै उपचार गराउँन बाध्यकारी हुनुपर्ने विचार पोख्दा "पावरफूल" व्यक्तिहरु एउटा सर्वसाधारण डाक्टर गोविन्द केसीसँग डराउँनु स्वभाविकै पनि हो । आउँनोस् डाक्टर केसी के कति कारणले सही हुन् निर्क्यौल गरौं । एउटा सचेत नागरिक भएर केवल राजनैतिक कारण रहेछ भन्दै उनलाई गलत सावित हुन नदिऔं ।
मचाहिँ डाक्टर केसीका यी विचारहरुसँग सहमत छु:
* सरकारी सँस्थामा निशुल्क चिकित्सा हुनुपर्छ । (यसको विरोध निजी क्षेत्रले गरिरहेका छन् र यो स्वभाविकै हो । सम्पूर्ण शिक्षा सरकारी हुनुपर्छ र निशुल्क हुनुपर्छ भनियो भने निजी शैक्षिक सँस्थाहरुले विरोध गर्नु अस्वाभाविक होइन नि ।)
* विदेश पढ्न जाने विद्यार्थीले पहिले नेपालमा उत्तीर्ण गरेर जानुपर्छ । (लाखौं रुपियाँ लिएर योग्य/अयोग्य सबैलाई एकै कोटीमा राख्दै विदेश पठाउँने सँस्थाले यसको विरोध गर्ने नै भए । नेपालमा योग्यता परीक्षा पास गर्न नसक्ने विद्यार्थीले विदेशमा गएर धन र समय किन खर्चिने, अन्य क्षेत्रमा लाग्दा भैहाल्यो नि । डाक्टर पढ्न पैसाले हैन योग्यताले सक्षम हुनुपर्ने हो ।)
* विगतमा माथेमा प्रतिवेदन लगायत डा. केसीकै अनशनका कारण नेपालमा राष्ट्रिय चिकित्सा ऐन, २०७३ पारित हुने क्रममा छ । (ऐनकानुन बनेपछि व्यवस्थाहरु सोही अनुसार चल्दछन् । व्यक्तिवाद हावी हुँन पाउँदैन । सिस्टम बनाउँने हो, बसाल्ने हो । केही थान कलेजको मनोमानीको भरमा देशको सिंगो स्वास्थ्य क्षेत्रलाई गुमराहमा पार्न पाइँदैन ।)
* विगतमा केही कलेजहरुले आफूसँग अध्ययन गरेका सबै विद्यार्थी डाक्टर पढ्नका लागि पास गरेका छन् । मोटो रकम बुझाएर पहिल्यै प्रश्नपत्र आउट गरी यस्तो नतिजा निकालियो भन्ने आरोपलाई पुष्टी गर्न अख्तियार चुकिरहेको छ । यसैले पनि लोकमानसिंह कार्कीमाथि महाअभियोग लगाउँनु पर्ने उनको माग रही आएको छ । यहाँ हरेक दलका सर्वोच्च नेता र ६०१ सांसदहरु नै चुकिरहेका बेलामा एउटा सर्वसाधारण कुर्लँदा जस खान खोज्नेहरु छटपटिनु कुन नयाँपन भयो र ? राम्रो कामलाई सबै राजनीतिज्ञले राम्रो मान्ने परम्परा बसाल्ने हो भने ६५ वर्षअघि नेपालमा प्रजातन्त्र आयो भन्ने हाम्रा प्रजातन्त्रलाई विदेशीले "वन डे डेमोक्रेसी" किन भन्थे र ?
* डा. केसी निजी क्षेत्रको विरोधी होइनन् तर अयोग्य मानिस यो क्षेत्रमा सर्टीफिकेट किनेको भरमा जागिर खाएर सर्वसाधारणको स्वास्थ्यमाथि खेलबाड नगरोस् भन्नका लागि राज्यले जिम्मा लिनुपर्छ भन्ने भनाई राख्दा केसी कसरी गलत भए ?
* नेपालमा प्रति १० हजार बिरामीमा लगभग २ जना डाक्टर पर्दछन् । योग्य डाक्टर उत्पादन गर भन्दा डा. केसी किन गलत भए ? कुनैबेला नेपालकै हाराहारीमा डाक्टर र जनसंख्याको अनुपात रहेको फिनल्याण्डले फड्को मारिसक्यो । विगत तीसौं बर्षदेखि उही हालतमा रहिरहँदा उनीजस्ता स्वार्थ नभएका व्यक्तिहरुलाई दुख लाग्नु स्वभाविक हैन र ?
* "जनताका छोराछोरीले सस्तोमा डाक्टर पढ्न पाउँनुपर्छ, स्वास्थ्य क्षेत्रको जिम्मा सरकारले लिनुपर्छ, ठूला माफियाको भरमा नभई ऐनकानून, नीतिअनुसार हरेक क्षेत्र चल्नुपर्छ, जाली र फटाहाहरुलाई कारबाही गर्न नसक्ने अयोग्यहरु राज्यको सर्वोच्च पदबाट नैतिकताले पनि हट्नुपर्छ" भन्दा डाक्टर केसी मानसिक रोगी भए भन्ने हो भने यो देशमा सद्दे को हुन् त ?
डाक्टर केसीले पनि अनशनकै कारणले आफूले मर्नुपर्छ भन्ने कहिल्यै सोच्नु भएन होला । पक्कै पनि परिवर्तन हुन्छ भन्ने नै ठानेर अनशन बस्नु भो होला । यो देशमा मरेपछि फूलमाला र राष्ट्रिय झण्डा ओढेर सम्मान पाइनेछ, जिउँदो हुँदा धारे हात लाउँने र मरेपछि बिलौना गर्दै श्रद्धाञ्जली छपाउँने नेतृत्वले व्याप्त भएपछि उनी एउटा सामान्य नागरिकको मरणले के नै फरक पर्ला र ? केसीलाई बाँचुञ्जेल सराप्नेले मरेपछि नै चिन्नेछन् । सम्बन्धित पक्षले उनको निधन नहुँदै जनताको जायज र पूरा गर्न सकिने जनपक्षीय मागलाई पूरा गरुन् । डाक्टर केसीलाई स्वास्थ्य क्षेत्रका जिउँदा सहिद नबनाइयोस् । अस्तु ।

No comments:

Post a Comment

तपाईँलाई यो सामग्री कस्तो लाग्यो ? कृपया कमेन्ट गर्नुहोस् ।

च्वास्स २