Monday, June 11, 2018

सरकारी नेपालबन्द ।


अस्ती बन्द एकादशी
हिजो बन्द द्वादशी
आज बन्द त्रयोदशी
भोली बन्द चर्तुर्दशी
यस्तै यस्तै हरेक दिन
हुन लागे बन्द
काम गर्ने गराउने
सबै अलखबन्द ।

बन्दोत्सव धुमधामले मनाउँदै छन् कोही
बन्द सप्ताह मनाउँदै गन्हाउँदै छन् कोही ।
बन्दकर्ता भन्दै नाउँ जनाउँदैछन् कोही
बन्दका खर दुषणको कथा सुनाउँदैछन् कोही ।

एउटा बन्दकर्ताले अवज्ञा गर्नेको टाउको फुटायो
अवज्ञा गर्नेले भोलीपल्टै बन्दकर्ताको घर लुटायो ।
घर लुटिएको निहुँमा त्यहीदिन बन्द गर्न समाज जुटायो
बन्द गर्नेले फेरि सद्दे हुनेको टाउको फुटायो ।

जुटाउनु, फुटाउनु, लुटाउनु बन्दको खेल
गाडी प्लेन सबै बन्द, बन्नुअगाडि बन्द भो रेल ।
बन्द भो सुधार गृह, बन्द भो जेल
बन्द भो सहिष्णुता, बन्द भो मेल ।

बन्द माता, बन्द गौरी, बन्द पिता महेश्वर
बन्द चितवन, बन्द गुल्मी, बन्द छ जलेश्वर ।
बन्द अदालत, बन्द स्कूल, बन्द सबै कार्यालय
बन्द मन्दिर र वृद्धाश्रम, बन्द छ अनाथालय ।

घरबार अलखबन्द छ
सडकमा अश्रुको गन्ध छ
भाषणैभाषणको छन्द छ
बन्द धेरै चल्दोरैछ, विकासचाहिँ मन्द छ ।

बन्द गर्नेलाई नेपालाँ कहिले पो दण्ड छ
तिनैलाई पुलिसको सुरक्षा हुँदा यसैले त उद्दण्ड छ ।

पुलिस पनि सँगै छ नारा मात्रै लाउँदैन
बन्द नगर भनेर मुखसम्म नि बाउँदैन ।

सरकार (पुलिस) र बन्दकर्ता सँगसँगै हिँड्या देख्दा
हाम्लाई भन्न करै लाग्छ आज 'सरकारी नेपाल बन्द' छ ।
- संप्रस पौडेल 'दिवस'
हेटौंडा २०७३-०७५

No comments:

Post a Comment

तपाईँलाई यो सामग्री कस्तो लाग्यो ? कृपया कमेन्ट गर्नुहोस् ।

च्वास्स २