Tuesday, July 2, 2013

कुकुर महात्म्य

     हाम्रा लोक र दन्ते कथाहरुमा स्याललाई धुर्त‚ खरायोलाई चलाख‚ कछुवालाई ढिलो‚ गधालाई मुर्ख‚ गाइलाई सुधो‚ गोहीलाई स्वार्थी इत्यादी उपनाम दिइएको छ । यस कथाका पात्रहरुसँग तुलना गर्दै हाम्रा नेता र कार्यकर्ता (झण्डा बोक्ने सबै बेरोजगारहरु) ले अहिले सबैले गाली गर्न थालेका छन् ।
     केही समय अघि आदरणीय मनोज गजुरेलले नेतालाई घुमाई फिराई गधा भन्नुभो ।  नेतालाई सिधै गधा भन्ने अधिकार दलहरुको राजनैतिक दस्तावेज हाम्रो संविधानमा कोरिएको छैन ।
     आजकल माननीय नेता र झण्डे बेरोजगारले झापड र बेइज्जति खेप्नु परेको छ । नेता भन्दैमा झापडै हान्नुपर्छ र ? सुब्बा कृष्णलाल अधिकारीले "देशलाई विदेशी कुकुरहरुबाट जोगाउन यिनै स्वदेशी कुकुरहरु नै काम लाग्दछन् ।" भनी भुत्ते र लुते भनिएका स्वदेशी कुकुरहरुको प्रशंसा गरेका छन् । हामी पनि प्रशंसा गर्न थालौं । गल्लीमै बस्ने र गल्लीकै खाने भए पनि देशकै खान्छन् । भुके पनि देशै भुक्छन् । भागे पनि देशमै भागेका छन् । चुर्लुम्म ऋणमा डुबाए पनि कुनै विदेश नभई यही देशैलाई डुबाएका हुन् । यिनको बेइज्जत गरेर विदेशी कुकुर सामू किन हाँसोको पात्र बनाउँनु । आउनोस् गल्लीका कुकुर मार्ने नगरपालिकाको कार्यबारे विरोध गरौं । स्वदेशी कुकुरको सम्मान गरौं । हर विहान खसी झैं डोर्‍याएर कुकुरलाई चराउने बानीको विकास गरौं । आफ्ना सन्तान भोकै राखेर पनि कुकुरका सन्तानलाई ब्रेकफास्ट‚ डिनर र लन्चको व्यवस्था गरौं । कुकुरहरुको पोषण र खोपबारे तारे होटलहरुमा चर्चा गरौं । कुकुर बचाउ अभियान बारे घरघरमा चर्चा गरौं । वर्षमा १ दिन मात्र होइन ३६५ दिनै यी कुकुरहरुको सम्मानमा खर्च गरौं । खब कुकुरलाई कुकुर होइन‚ हाइ डियर टमी भन्न सिकौं ।
     "कुकुरले किन सडक बालबालिका र पुलिसलाई मात्र भुक्छ ? " भन्ने प्रश्न सामाजिक सञ्जालका भित्ताहरुमा तेर्सिएका छन् । जनता र यिनका छोराछोरीसँग कुकुर ज्यादा डराउनुपर्ने हुन्छ । उनकै नुनपानी र कर खाएर डकार गर्ने कुकुरले यो बुझेकै हुनुपर्छ । सडक बालबालिकाहरुलाई झण्डा बोके ता दुई छाक खान पाइहाल्थ्यौ किन यसरी झुत्रेझुम्रे भइ हिँड्छौ भनी कुकुर भुक्छ । सबै पुलिस एकै हुन्नन्‚ दुई चार कुहिएका आलु जुनसुकै बोरामा पनि हुन सक्छन् । तिनलाई पन्छाएर हेर्ने हो भने बाँकी सद्दे आलुदेखि कुकुर पनि डराउँछ । आजकल ज्यादा सुतीसुती खाने र ऐश आरामले कुकुरलाई पनि डायबिटिजले सताउन थालेको छ । त्यसैले कुकुर कार्बोहाइड्रेट ज्यादा पाइने आलुदेखि डराउँनु स्वभाविकै हो । लेख्दै... (2070.3.19)

2 comments:

  1. भुके पनि देशै भुक्छन् । भागे पनि देशमै भागेका छन् । चुर्लुम्म ऋणमा डुबाए पनि कुनै विदेश नभई यही देशैलाई डुबाएका हुन् । यिनको बेइज्जत गरेर विदेशी कुकुर सामू किन हाँसोको पात्र बनाउँनु । आउनोस् गल्लीका कुकुर मार्ने नगरपालिकाको कार्यबारे विरोध गरौं । स्वदेशी कुकुरको सम्मान गरौं ।
    nice (y)

    ReplyDelete
    Replies
    1. हो विदेशी आश्वासनमा टिकेर विदेशी दलालरुपि भएर काम गरे पनि स्वदेशी भुकाईले मात्रै यिनका नेपाली नागरिकतासम्म खारेज गरिनुहुन्न । सबै कुकुरले आफ्नो देशको भुकाई वा आफ्नो मौलिक भुकाईलाई टिकाइराख्छन् भन्ने के छ र ? स्वदेशी कुकुरहरुलाई धन्यवाद ।

      Delete

तपाईँलाई यो सामग्री कस्तो लाग्यो ? कृपया कमेन्ट गर्नुहोस् ।

च्वास्स २