Tuesday, July 23, 2013

___नयाँ पुस्ताको चासो___

उहिले मेरा पुर्खाहरु पाहुनाहरुलाई अतिथी भन्थे । हाम्रा बाजेबज्यैहरु ढोकाको शीरमा दलिननिर "अतिथी देवो भवः" लेखिन्थ्यो । अर्थात अतिथी देवता समानको हुन्छ । जसको सम्मान र रक्षा गर्दै बास बस्न दिनु नै धर्म हुन्थ्यो । तर दोश्रो पुस्ताको पालामा आइपुग्दा ढोकामाथि "स्वागतम्" लेख्न थालियो । आजकल मानिसमा "हरि" हराएको छ । दया माया प्रेम सत्कार र नैतिकताको खडेरी लाग्न थालेको छ । यसैले आजकल घरको गेट बनाउने ग्रीलवालाले घरबेटीसँग नसोधी फलामे गेटमा "कुकुरदेखि सावधान" भनेर लेख्न लगाउँछ ।

उहिले हाम्रा बाजेबज्यै‚ बाआमाहरु आफ्नो जन्मदिनमा सखारै उठेर नुहाएर मन्दिर गई धुप बत्ती बाल्दथे । शुभ कार्यमा बालेको बत्ती लामो समयसम्म टिकाउनुपर्छ भनिन्थ्यो । तर आजकल जन्मदिन (बर्थडे) मा श‌ंकघण्टा फूल प्रसादी त हराए नै बासी केक काटेर बालिएका मैनबत्तीहरु पनि निभाइन्छन् । यो नयाँ पुस्ताले चासो दिनुपर्ने विषय हो।

उहिले उहिले बारीमा उत्पादन गरिएका अनाजहरु आँगनमा विस्कुन सुकाउँदा कुरेर बस्ने चलन थियो । त्यो हाम्रा बा काकाका पालामा र आजकल पनि छँदैछ । उहिले अरुको लिनु महापाप हुन्थ्यो । सकेको दिनु नै धर्म हुन्थ्यो । त्यसैले कसैले आफ्नो विस्कुनमा ल्याएर थपिदेला र पाप बोक्नुपर्ला भनी विस्कुन कुरिन्थ्यो । बा काकाका पालमा मुरीका मुरी अनाज दश आठ चराले खाइदेला र छोरानाती भोकै बस्नुपर्ला भन्ने पीर । आजकल विस्कुन कुराईमा निकै भिन्नता छ । आजकल कसैले आएर आफ्नो विस्कुन चोरी लैजाला र भरे मुखमा माड नलाग्ला भन्ने पीरले विस्कुन कुर्नु परेको छ ।

यो स्तम्भकारकै अगाडि गुरु पूर्णिमाको अवसरमा एक जना गुरुलाई अर्का भूतपूर्व विद्यार्थीले विद्यालयमै आएर बोकेर हातमा ढोग गरे । आजकल यस्ता परम्परा विरलै छन् । छन् त केवल पत्रपत्रिकामा नाम र टिभीमा अनुहार  अटाउनका लागि गरिने कार्यहरु मात्र ।

आजकलका बालबालिकाहरुले किताबी ज्ञान र पर्सेन्टेज त धेरै पाए । तर हजुरबा हजुरआमाबाट नीतिकथा‚ समाजबाट सामाजिक शिक्षा‚ बाआमा र शिक्षकहरुबाट नैतिकता‚  इमान्दारिता र व्यवहारिकताका कुराहरु सिक्ने मौका नै पाएनन् । केही किलो भारीका किताब बोकेर त्यसैलाई रटान गर्दै र सामाजिक खेललाई छोडेर टिभी र कम्प्युटरमा व्यस्त बालबालिकाहरुले पूराना पुस्ताबाट सिक्नुपर्ने धेरै कुराहरुको एउटा पाटो अधुरै रहँदैछ । नयाँ पुस्ताले चासो दिनुपर्ने भएको  छ ।.... आजकल बाउछोरी‚ जिग्रीजिग्री‚ पूराना पुस्ता र नयाँ पुस्ताबीच विश्वासको पोयो टुट्दै गएको  छ । खै कहिलेसम्म....

No comments:

Post a Comment

तपाईँलाई यो सामग्री कस्तो लाग्यो ? कृपया कमेन्ट गर्नुहोस् ।

च्वास्स २