Wednesday, July 10, 2013

त्यो दिन र यो दिन



त्यो एकादेशको कथा हो । जतिखेर हामीसँग ढुंगा र माटोका डल्लाहरु बोल्दथे । रुख र झारपात नाच्दथे । बाघ आफूलाई राजा हुँ भन्थ्यो । स्यालको धुर्त्याइँ‚ खरायोको बठ्याइँ‚ चितुवाको चाल‚ बकुल्लाको ध्यानबाट हामीले धेरै सिकेथ्यौं । ती कथाहरुमा गैंडाहरुले वृक्षारोपणका लागि खाल्डो खन्ने काममा सघाए । भालुले बिरुवामा पानी खन्याएर हुर्काए । खरायोहरु सँधै आफ्ना जंगली साथीहरुलाई सिंहको पञ्जाबाट जोगाउन प्रयत्नरत रहन्थे । तर...... ती कथा र पात्रका दीन हामीसँग रहेनन् । बचेका बाघ र भालुहरु हामीसँग रिसाएका छन् । खरायोहरु दुलो छोडेर बाहिर निस्कन अत्तालिन्छन् । खै आकाशमा उड्ने ती गिद्धहरु ? गैंडाहरु १०० को नोटमा बाहेक जंगलमा घटेका घट्यै छन् । आफ्ना अस्तित्व घटाउने कारक मान्दै बाघले घरैभित्र छिरेर मान्छे मारेका मार्‍यै छन् । सालकका खपडा‚ चिरुका रौं‚ हात्तीका दाँत‚ कस्तुरीका नाभी‚ बाघका छाला‚ गैंडाका सिङका लागि बर्षेनी यिनले बलिदानी दिनुपरेको छ । सूचना प्रविधीको विकासले हजुर्बा हजुर्मासँग लोककथा सुन्ने परम्परा लगभग पूर्णतः टुंगिएको छ । परापूर्वकालीन लोककथा त टुंगिए तर एक एक थान गैंडा‚ कस्तुरी‚ निलगाई इत्यादी जनताका घरघरमा पाल्न दिने हो भने पक्कै यिनको संख्या भने बढ्नेछ । पर्यटनबाट मनग्गे पैसा बटुलिएको छ तर हाम्रा हिमाल‚ पहाड  र जंगलहरु बिटुलिएका छन् । हिमालमा हिउँ पग्लेर नांगो फुस्रे डाँडाँमा परिवर्तन भएका छन् । तराई र राष्ट्रिय निकुञ्जका जंगलहरु दिनानुदिन घट्दै छन् । १० वर्षका लागि प्राकृतिक सम्पदा संरक्षण र हुर्काउनका लागि पर्यटन पूर्णतः बन्द गरिनुपर्छ । क्रमशः



No comments:

Post a Comment

तपाईँलाई यो सामग्री कस्तो लाग्यो ? कृपया कमेन्ट गर्नुहोस् ।

च्वास्स २