Sunday, August 11, 2013

दातासँग माग्ने

-संप्रस पौडेल 'दिवस'
(हाँस्यव्यंग्य कविता)

बस्ने पिर्का भाँचियो
दातासँग हात थाप्ने,
सुत्ने थाङ्ना च्यातियो
दातासँग हात थाप्ने ।

निद छैन मिठो
दातासँग रात माग्ने‚
घरमा छैन पिठो
दातासँग भात माग्ने ।

बाँझो छ खेत जोत्नलाई
दातासँग ज्याला माग्ने,
जोतियो खेत रोप्नलाई
उसैसँग फेरि माग्ने ।

सेते लाग्यो गिँदरीले कामै गरेन
लाइ लाग्यो खरानीले छुँदै छोएन,
रुदिलो र धुर्सुलले केको किरा भाग्ने ?
'विषादी दान देऊ' भन्दै दातासँग माग्ने ।

हलो, फाली, कचिया, धारो चाहियो अनि
भारी कस्दा चुँडियो खुइते कन्दनी,
चतिएछ टोपी, चुडिएछ जनै
किस्तामै भए पनि देऊ सनैसनै ।

बुट्टेदार खुर्पेठ्याक कतातिर गयो ?
गौवा र सिङ्वाङ् बेपत्ता नै भयो,
चरेस थाल हराए, काठको ठेकी खोई ?
गाइ पाल्न अल्छी भयौं, ल्याऊ दहि मोही ।

मन्दिर र डम्पिङ सँगै
हाम्रै शहर गाउँमा,
भान्छा चर्पी जोडिएको
आधुनिकताको नाउँमा ।

दाता भन्छ भान्छासँगै चर्पी बनाउनु
मर्नुभन्दा पहिल्यै चिहान खनाउनु,
पितृ पूजा छोडेर रक डान्स गर्नु
मर्ने बेला ब्याण्ड बाजाले शोक मनाउनु ।

डलर ल्याउँला धेर,
जाओस् आधा खेर,
सुत्या बाहेक अरु कामको
रिपोर्ट बनाउनु हेर ।

ल्याउला र खाउँला सुत्दै जप्दै डलर
विलासी भैं वास्ता छैन जंगे पिल्लर
सगरमाथा आधा चीनको, बुद्ध भारतमा रे
भास्सिदैछ वीरता हाम्रो दिन रातमा हरे ।

सगरमाथा पूरै देउ दाता तिम्ले अब
बुद्ध यहीँ जन्मे भन दाता तिम्ले अब
डर देखाई ख्वाउन छोड नेपाल माता तिम्ले अब
घुक्र्याउँदा कोखाई ख्वाउनु दाता तिम्ले अब ।

शान्ति छैन चैन छैन
हात फैलाई माग्ने
माग्ने हातै भाँचिए
दातासँग माग्ने
हालः सिद्धार्थ उच्च मा.वि.‚ हेटौंडा
(2070 जेठ 20)

No comments:

Post a Comment

तपाईँलाई यो सामग्री कस्तो लाग्यो ? कृपया कमेन्ट गर्नुहोस् ।

च्वास्स २