Sunday, February 17, 2019

सेतो अण्डा र कालो झण्डा


कुनै देशमा ब्रोइलर कुखुरा र लोकल कुखुरा सँगै बस्दथे । दुवै सँगसँगै हुर्कँदै थिए ।
लोकल कुखुराको बिहा गर्ने दिन आयो । उसका साथीहरुले एउटी तरुनी कुखुरीको फोटो देखाए । उसलाई पनि राम्रै लाग्यो । ब्रोइलरलाई त्यो फोटो देखायो । उसले विरोध गर्दै पहिलो पटक कालो झण्डा देखायो ।
---------------
लोकल कुखुराले साइत जुराएर बिहा गरे । हनिमुन गए । बाटामा ब्रोइलरले कालो झण्डा देखायो । केही समयपछि कुखुरीले अण्डा पार्न थाली । अण्डा नपार्नु भन्दै ब्रोइलरले यहाँ पनि कालो झण्डा देखायो । उसलाई लाग्थ्छ यो शान्तिपूर्ण विरोध हो । हुन पनि हो, कालो झण्डा सांकेतिक विरोध हो तर पारीसकेको अण्डा कसरी फिर्ता गर्ने हो लोकल कुखुरादम्पत्ति अचम्मित थिए । घर मालिकले अण्डा जम्मा गर्दै गर्दै डोकोमा पराल राखेर ओथार बस्ने स्थान सुरक्षित गरिदिए । कुखुरी ओथार बसी । लगभग १८-२० दिनको बीचमा सबैजसो अण्डाबाट चल्लाहरु निस्किए ।  चल्ला फिर्ता गर्नु भन्दै ब्रोइलर जताततै कालो झण्डा देखाउँदै हिँड्न थाल्यो ।
---------------
उता लोकल कुखुराका साथी ब्रोइलरलाई आफ्नो बिहे नभएकोमा अनौठो लाग्यो । ज्योतिषकोमा देखाए । ज्योतिषले न्वारानको नाम सोधे । ल्याबोरेटरीमा जन्मिएको हुनाले आफ्नो न्वारानै गर्न बाँकी रहेको उसले जनायो । उनको लिङ्गीय पहिचान सोधे । बाउआमा र उ जन्मेको देश सोधे । कतै कहिल्यै कसैले नसोधेका प्रश्न सुनेर ब्रोइलर अवाक् रह्‍यो र चुपचाप घर फिर्‍यो ।
एक दिन उ न्वारान गर्नका लागि पण्डितकोमा गयो । पण्डितले चार चार महिना बितिसक्दा पनि न्वारान नभएकोमा अब न्वारान गर्न नहुने अड्डी राखे । ब्रोइलर बिहे गर्न केटी जुराउन  थाल्यो । कुनै केटी जुरेन । केटीका घरमा जाँदा विभिन्न प्रश्नहरु सुनेर उ सँधै कालो झण्डा देखाउन माहिर भैसकेको थियो ।
---------------
निकै दिनदेखि ब्रोइलर कुखुरा हराएकोमा मालिक रिसाइरहेका थिए । रिसाएकै मालिकका अगाडी उसले विरोध स्वरुप कालो झण्डा देखायो । मालिक झनै रिसाए । उसलाई थुनिदिए र टोलभरी डुङ्गडुङ्ती गन्हाउने गरी खाना, दाना, नाना, पानी सबैको व्यवस्था गरेर थुनेर राखिदिए । एकै ठाउँमा कुँजिनु परेकोमा ब्रोइलर दिनदिनै बुढो देखिन थाल्यो । ब्रोइलर

लोकल कुखुरा भन्थ्योः भाला, खुकुरी, बम बारुद र टायर जलाएर गरिने आन्दोलनभन्दा कैयन गुणा स्वच्छ आन्दोलन हो कालो झण्डा प्रदर्शन । लोकल कुखुरा अझै सम्झाउँथ्योः कस्तो अवस्थामा कालो झण्डा प्रदर्शन गर्ने भन्ने बुझेर मात्र गर्नुपर्छ । प्राकृतिक र सामाजिक अनी आफ्नो भूमण्डलकै विरोध जनाउने गरी कालो झण्डा प्रदर्शन गर्नु हुन्न भन्ने उपदेश दिन्थ्यो ।
---------------
किन चाउरिस मरिच् आफ्नै पिरोले भनेझैं लोकल कुखुराका सेतो अण्डा र त्यसबाट चल्ला कोरल्ने चाहना दिनदिनै चाउरिँदै गएको थियो । अब जीवनको अन्तिम समयमा उसको क्लोनिङ गराएर अरु कुखुराहरु उत्पादन गराइन थालियो । त्यसपछि ब्रोइलर कुखुराको आयू ४५ दिन र लोकल कुखुराको आयु त्यसको दश गुणा अर्थात् ४५० दिन हुन थाल्यो भन्ने भनाई छ ।

No comments:

Post a Comment

तपाईँलाई यो सामग्री कस्तो लाग्यो ? कृपया कमेन्ट गर्नुहोस् ।

च्वास्स २