Friday, August 2, 2019

आवश्यकता......... आवश्यकता...... आवश्यकता ।

अन्य पोष्टर पर्चा पम्प्लेट, फ्लेक्स नटाँसिएको 'खाली चोखो' पोल चाहियो ।
बिजुलीको तारका लागि गाडिएका पोलमा बिजुलीका तार मात्रै छैनन् । प्रधानमन्त्रीका विज्ञापनदेखि पियनका आवश्यकतासम्मका कुरा त्यसमै टाँसिन्छन् । त्यसले के के मात्रै धान्नुपर्ने हो ?
कम्प्युटर शिक्षकले विषयवस्तु अध्यापन गराउने, आइडि कार्ड बनाउने, सर्टिफिकेट छाप्ने, दैनिक चिठीपत्र टाइप गर्ने, कसैका कथा कविता, गन्थन मन्थन पेनड्राइभमा थन्क्याइदिने, प्रश्न पत्र बनाइदिने, कसैका नातिनातिनीका फोटो तयार गरिदिने, स्कूल त भैगए घरघरमै गएर कम्प्युटर, मोबाइलदेखि टिभी, रेडियोसम्म बनाइदिने बाध्यता सिर्जना हुन सक्छ । (कम्प्युटर विषयका शिक्षक भ्याकेन्सीमा यी सबै योग्यता खुलाउनु होला ।)
बिजुलीको पोल पनि उस्तै सबै बोझ थाम्नुपर्ने खालको हुनुपर्ने रहेछ ।
एउटा शैक्षिक सँस्था प्रदेश ३ कै उत्कृष्ट अरे । कतै अटो मयुरी र बिजुलीको पोलमा विज्ञापन टाँसेको देखेको । हैन ट्यूसन सेन्टरहरुलाई यो उत्कृष्टको पदकचाहिँ प्रदेश सरकारले कतिखेर घोषणा गर्‍यो हँ ??
२०७५ सालमा स्थापित अर्को शैक्षिक सँस्थाले सोही वर्ष विज्ञापन गर्दै बजार बजार पोल पोलमा फ्लेक्स टाँस्यो । शिक्षक सेवा आयोगको तयारीका विषयमा त्यहाँ लेखिएको थियो "विगतमा सर्वाधिक नतिजा ल्याउँन सफल" । भर्खरै खुलेर विगतमा सर्वाधिक नतिजाचाहिँ कसरी आएछ जिज्ञासा रहिरह्यो ।
आजकल बजारमा बोर्ड र फ्लेक्स झुण्डिन बाँकी बिजुलीको कुनै विशुद्ध पोल देख्नुभएको छ ?
शीरमा बिजुलीका २ वा ३ वटा तार मात्रै झुण्डिएको एउटा खाली र चोखो पोल चाहियो । मलाइ नि फ्लेक्स टाँस्नुछ क्या ।
ल हेर्नुहोस् हाम्रा बिजुलीका पोलहरुको "योग्यता र परिणाम..."


No comments:

Post a Comment

तपाईँलाई यो सामग्री कस्तो लाग्यो ? कृपया कमेन्ट गर्नुहोस् ।

च्वास्स २