Saturday, August 24, 2019

रवि लामिछानेको पक्षमा एउटा ब्लगर (व्यंग्यदेखि आशासम्म)

हाम्रो पत्रकारितामा अनुमानकारिता हावी भयो ।
अन्धभक्त, भेडा र भौमान भन्दै व्यंग्य गर्नेहरूलाई दुई दिनको रामछायाँबाट मुक्ती मिल्दैछ कि जस्तो लाग्यो । भाषा सच्याएर लेख्न थालेका छन् । सुध्रिन ढिला गर्नु पनि हुन्न, राम्रै गरे । ती शब्दको सर्वाधिक प्रयोग उनीहरूले नै गरे भनेर सम्झाउन पनि चाहेको छु । कतिपटक गरेँ भनेर आफ्नै मिडियातिर खोज्नुहोस् ।
गाली शिरोमणि पदक बाँडियोस् ।
राज्यले गाली शिरोमणि पदक बाँड्दो हो त, निकै खर्चिलो पनि हुँदो हो ।
झण्डामुनी बस, दरबार नपस ।
कसैले भन्यो भन्दैमा झण्डा खोजी‌खोजी ओत लागिदिने ? ओत दिएपछि त्यसको भाडा असूल्नलाई भ्रमित पारिदिने ? होलाई हैन बनाइदिने? झण्डामुनी बसेर दिइने कस्तो सेवा हो यो ? आफ्नै कलममा आफैँले सेन्सर लगाउने? कलमको हत्या नहोस् ।
अनुमानकारिता बढी भयो ।
पत्रकार नै शासक जोगाउने मोहमा अर्का पत्रकारलाई खुइल्याउन लागेपछि अनुमानकारिता हावी हुन गयो । आफ्ना रोस, पार्टीभक्तीको भजन, शासकप्रतिको बफादारितालाई मात्रै ध्यान दिँदा ती आवेगहरूका अनुच्छेदहरू समाचार भनाइए । कांग्रेस निकट कर्मचारीको खराब आचरण नेकपा निकटले मात्रै छाप्ने, नेकपा निकटले त्यसकै उल्टो गर्ने, कम्युनिष्टले राजावादी भनेर गणतन्त्रको हेरालु आफैँ मात्र ठान्ने, कांग्रेसले पूरानोको तक्मा हिङको टालो ठान्ने । हाम्रा साहित्य, रचना, कला, भाषा, धर्म, सँस्कृतिमा यी विषयवस्तु, राजनैतिक आस्था, व्यवस्थाले कति धेरै आँच पु-याउँछ । सोच्नु पर्दैन? हजारौँ, लाखौँ आम मानिसले पढ्ने, सुन्ने, हेर्ने मिडियाले धर्मै बिर्सेर पीठोलाई चामल भनेर नबेचुन् ।
रविको रेकर्ड नै विश्वस्तरको पहिचान
रवि लामिछानेकै भनाइलाई सापटी लिने हो भने पनि उनी संसारमै एक मात्र हुन्, उनको गिनिज वर्ल्ड रेकर्ड तोड्ने आँट उनका विरोधीले पनि गरे हुने नि ! नेपालीका रेकर्ड नेपालीले जोगाउँछ, गजबै हुने हो । पहिरोले आफ्नो घर पुरेकोभन्दा अरूको नपुरेकोमा ज्यादा चिन्तित हुन लाग्यौँ भने हाम्रो मानवीयता लिलाम हुन कतिबेर ?
उनले जस्तै राज्य प्रशासनबाट दिक्क भ‌एर अन्यायमा परेकालाई न्याय दिन लागि परे हुने नि! (फेसबुकका स्टाटस साभार गरेर पत्रिका चलाउँछु भन्नेहरू सुध्रिउन् ।)
सामाजिक सञ्जालको प्रयोग
फेसबुक, ट्वीटर, युट्युव आदिको प्रयोग दिनानुदिन सहज हुँदैछ । सामान्य मानिसले पनि आफ्ना विचार भावना पोखिरहेछन् । विभिन्न दल, धर्म, जातजाति भाषाभाषीसँग नजिक रहेर थुप्रै अनलाइन मिडिया खुलिरहेका छन् । तीमध्ये कतिपयले प्रकाशन प्रशारण गर्ने सामग्री नै अन्तिम सत्य होला नहोला तर मान्छेमा चेतना ल्याउने वा दिग्भ्रमित बनाउने दुवै काम यसबाट हुन सक्छ । यसर्थ सचेत मान्छेले अचेत हुनु हुँदैन । आफना विचार लाद्ने नाममा अरूलाई गालीगलौच, अश्लील शब्दको प्रयोग, जातीयता, साम्प्रदायिकतामाथि कटाक्ष नौलो हुन छोडिसके । यसको ज्वलन्त उदाहरण काँचो धागो तथा जनैको महत्वसम्बन्धमा कान्तिपुर दैनिकको समाचारका कमेन्टहरू हेर्न सकिनेछ । यस्तै गर्ल्स होस्टेलमा भन्टा भेटेको, निरबिरालोलाई डार्बिनको सिध्दान्तको चर्चा गरको, सुई आतङ्कमा निर्दोष पाठक सरलाई दोषी करार गर्ने काम मिडियाकर्मीले नै गरे ।  कलमकर्मी समाजको ऐना बनिराखोस् । एउटा बिराउँछ, सारा पिराउँछ भनेजस्तो नपरोस् ।
निरन्तर लाग्नोस्, तपाईँहरू नै राज्य हो आम मान्छेको
ती तमाम पत्रकार, सम्बध्द मिडियाकर्मी जो दिनरात पार्टीको झण्डा र सिध्दान्तलाई पर राखेर कर्ममा खटिरहेका छन् । तिनको कामलाई यो खहरे पत्रकारिताले ओझेलमा नपारोस् ।
रवि लामिछाने राज्य र सरकारकै सहयोगी
अन्तत रवि लामिछानेमाथि स्वतन्त्र छानविन होस्, शंकाको भरमा, बोल्देकै भरमा यसरी हप्तौँसम्म एउटा न्यायकर्मीलाई आवाजविहिन नबनाइयोस् । राज्यले गर्न, हेर्न नभ्याएका विषय उठान र न्याय दिलाउन राज्यलाई ढकढकाउने व्यक्ती सरकारकै दूत हुन् । यो सरकारमाथि विपक्षीको पनी ठूलो आश थियो, विकासको बाढी नै आउला कि भन्ने । समयले ल्याउने सामान्य परिवर्तनभन्दा व्याख्या विश्लेषण, तुनाबुना, उखानटुक्का र लडाउने पछार्ने खेलभन्दा अचम्मै लाग्दो परिवर्तन केही भ‌एको होइन । तथापि राज्य संरचना, सरकार, व्यवस्था र निकायहरूको कमजोरी खोतल्ने मान्छेला शत्रु ठानियो कि भन्ने कार्यकर्ताहरूको प्रचारबाजीले प्रष्ट्याउँछ । कमजोरीहरू सुधार्नतिर लागियोस् । आफ्नै आयू किन घटाउनु ?
शान्ति र न्याय मिलोस्
राजनैतिक व्यवस्था परिवर्तनसँग जोडिएर हजारौँ मार्नेहरूले देशमा शान्ति ल्याउन गर्नुपरेको ठानेका छन् । हिरोसिमा र नागासाकीमा बम हान्नुको उद्देश्य शान्ति प्राप्तिसँग जोडिन्छ । देशमा न्यायिक निकाय हुदाहुँदै जनकारबाहीका नामका शंकै शंकामा, व्यक्तिगत, आस्थागत, वंशीय, पेशागत ईर्ष्या/ईवीले थुप्रैले जबर्जस्त मर्नुपरेको घटना हाम्रै त हुन् नि । यसर्थ विश्व विजेताले मात्रै हैन सामान्य मानिसले पनि अन्याय भोग्नु नपरोस् ।
मृतक पुडासैनीमाथि मरेपछि पनि अन्याय नहोस् । जबर्जस्त दोषी करार गरिएका घटना नेपालमा नौला छैनन् । देब्रे र दाहिने जुत्ताका कुरैले कानूनका नौ सिङ् भन्न मज्जैले सकिन्छ । आशा छ त्यस्तो नहोस् ।
नेपाी माटोमा रवि लामिछानेको भविष्य पनि नमरोस् ।
हाललाई मुद्दा न्यायीक प्रकृयामै रहेका कारण न्याय नमरोस् भन्न चाहेँ ।

No comments:

Post a Comment

तपाईँलाई यो सामग्री कस्तो लाग्यो ? कृपया कमेन्ट गर्नुहोस् ।

च्वास्स २