Thursday, March 14, 2013

पुच्छर प्रचलन र हाम्रो बानरपन


शंकर लामिछानेको ‘एब्स्ट्र्याक्ट चिन्तन प्याज’ पढेका, आफूलाई निकै विद्वान ठान्दै कनीकुथी बोक्रा गुथेर खान्कीविनाको बान्कीमा ढाल्न प्रयत्नरत मेरा गाउँले साहित्यकारले आफ्नो नामको पछाडि पुच्छर झुण्ड्याएछन्, संविधान सभाको चुनाउपछिका नेतालाई 'असफल' भनी पुच्छर झुण्ड्याएझैं । आजकल नाममा होस् कि काममा, ठाममा होस् कि कुठाममा पुच्छर झुण्ड्याउने प्रचलन बढेको छ ।

एसेल्सीले नपत्याएको कान्छो कुन्नी कता गएर डुप्लिकेट सर्टिफिकेट निकालेर कलेज पढ्ने भयो रे । गोडा दशेक हजार खसालेपछि झर्ने सर्टिफिकेटकै लागि दश बर्ष पढ्ने दिन गए भन्दै गाउँले उचाली हिँड्ने कान्छोले नयाँ ग्राहकको खोजीमा विज्ञापन छपाउन मात्र बाँकी छ । जमानै पुच्छरको, अझ पुच्छरै डुप्लिकेट भएका छन् ।
साहित्यकारको नाम खोज्दै आठ कक्षामा पढ्दादेखि नामको पछाडि पुच्छर झुण्ड्याउने रहर जागेपछि नेपाली विषयमा अनुत्तीर्ण हुनेदेखि अंग्रेजीमा गुल्टुङ खानेसम्मले खोजी खोजी नाम राख्ने काम भयो । कसैले दिनदुखी, कसैले गरिब, कसैले गाउँले, कसैले भरिया, किसान, मजदुर, परिश्रमी, भन्दै उत्पीडितहरुका नाम राखे । नामका अघिपछि पुच्छर राख्ने चलन दलहरुमा अरुभन्दा बढी माओवादीमा रहेको छ । लेखकहरुमा पुच्छर राख्ने प्रचलन बारे घोरिनु पर्दा संसारमा साहित्य कोरिनुभन्दा अघि नै हो । आजकल लेख चोरिनु र अर्कैको नाम जोडिनुले त झन् पुच्छरकै पनि डुप्लिकेट निस्किसकेको प्रमाणित भएको छ ।
नाम राख्ने क्रममा प्रेममा फस्नेहरुले बिरही, दुखी, बेसहारा, एकल, एलन, पीडित, संघर्ष, बदनाम, रोज इत्यादि नाम राखे । पूर्व राजा ज्ञानेन्द्रले जी. शाह, पूर्व रानी ऐश्वर्याले चाँदनी, बासुदेव शर्माले भूतको भिनाजु पनि मै जस्तै मेरै उमेरमा राखेको हुनुपर्छ । अहिले सम्झिँदा लाग्छ, साहित्यकार दुर्गाबहादुर सुवेदीले दुबसु, राममान श्रेष्ठले तृषित पत्रकार खुशराज दाहालले राजन, रामकुमार रिजालले एलन, शिबकुमार रिजालले काशी, रीपेश दाहालले रिद्धी भनी बेलैमा पुच्छर झुण्ड्याएको हुनुपर्छ । यसले पनि हामी मानव जाति बानरका पुर्खा हौं भनाउँनका लागि अकाट्य प्रमाण पेश गराउँदछ । वैज्ञानिकका भनाइलाई शिरोधार्य गर्दै आफ्ना पूर्खाको प्रतिनिधित्व गर्दै मैले पनि आफ्नो नाम पछाडि पुच्छर झुण्डाउने निर्णय गरेँ कागको हुलमा बकुल्ला हुनु भएन भनेर ।
आजकल विज्ञापनदेखि चलचित्रसम्म पुच्छर झुण्ड्याउने प्रचलन ह्वात्तै बढेको छ । बीस रुपियाँको सामानमा दुई रुपियाँ छुट, यो किन्दा उ सित्तैमा, उ किन्दा यो सित्तैमा... इत्यादि । यस्तै प्रचलन बढ्ने हो भने स्वास्नी ल्याउँदा सन्तान सित्तैमा भनी म्यारिज ब्युरोले विज्ञापन गर्न पनि बेर छैन ।
लौ हेर्नुस्, सलाईको बट्टाको खरीदमा काँटी सित्तैमा । उहिले १ रुपियाँ पर्ने सलाइ आज पनि होलसेल दाममा १ रुपियाँमै आउँने रहेछ । बरु त्यसभित्रको काँटीको गन्ती गर्न उबेलामा १ मिनेट लाग्थे, आजकल केही सेकेण्ड ।
२०६९ माघ

No comments:

Post a Comment

तपाईँलाई यो सामग्री कस्तो लाग्यो ? कृपया कमेन्ट गर्नुहोस् ।

च्वास्स २