Thursday, March 14, 2013

दुई सय पचास एम एलको जिन्दगी

पँधेरोको कलकल पानी छोडेर
मिनरल वाटर किनी खाने यो जिन्दगी,
धान, मकै, गहुँ खाएको लोकल कुखुरा बेचेर
एन्टिबायोटिकले फुलाएको ब्रोइलरको रोष्ट खाने,
गाइको दुध बेची बेची
बेलुकी लुसुक्क भट्टी जाने,
सुटुक्क रक्सी धोक्ने यो जिन्दगी,
सम्झन पनि नभई नहुने,
बिर्सन झनै चाहिने,
घरको कोदो बेचेर होस् कि
कुखुरीको चल्लादेखि कुकुरको छाउरासम्म
किन नबेचुँ,
बाको स्टकोटको खल्ती काटेर होस् कि,
आमाको थैली फोएर होस् वा
ट्याङ्काको पिँध प्वाल पारेर,
मैयाँ साहेबको चिठी ओसारेर नपुगेर
बाबु साहेबको बिँडी बटारेर
किन नहोस् ।
पिउने बानी लागेपछि,
अजिङ्गरको आहारा दैवले जुराउँदो रहेछ ।
त्यही आहारा खाने मुखहरु
कसैले आफ्नो वजन तौलेर भन्ला
आफू त एक क्विन्टलको जिन्दगी,
वा आफू त पचासी किलोको जिन्दगी,
तर
हरेक साँझ मलाई लाग्दछ,
यो जिन्दगी
सिर्फ दुई सय पचास एम एलको जिन्दगी ।
२०६८।८।५
पुनरावेदन अदालत हेटौंडा
(www.khasskhass.com मा पोष्ट भएको)

No comments:

Post a Comment

तपाईँलाई यो सामग्री कस्तो लाग्यो ? कृपया कमेन्ट गर्नुहोस् ।

च्वास्स २