Thursday, March 14, 2013

भ्यागुतालाई स्टकोट


संप्रस पौडेल दिवस
अँधेरीलाई च्यापी राख्ने कुना भए नेता
थाल छोडी टपरी र दुना भए नेता ।

कति राम्रो सम्बन्ध घोडा र मालिकको
कट्टु भए कार्यकर्ता तुना भए नेता ।
(…) (…)
फुस्केला पद लाज होला भनुँ भने पनि
हाडै देखाई नाङ्गिने दश गुना भए नेता ।
मनहरीको माछा खाने साथीहरुको रहर पूरा भएपछि राप्ती खोला तर्दै प्रतापपुर, रमौली हुँदै चुरेलाई छिचोलेर हाँडिखोलाको डिल्लिपुर, बसन्तपुर, दर्दराको फायर लाइन बाटो हुँदै फर्कँदा श्याम भाइले आफ्नो नेता महात्म्यको गजलका तीन शेर सुनाउनु भयो । गन्तव्यविहिन यात्रालाई केवल यात्राकै रुप दिने र साँझ हेटौंडा फर्कने विचार गर्दै केही गजलकार, व्यंग्यकार, कवि र पत्रकार साथीहरुको जमात थियौं । कवि मोहन दाईले भानुभक्तको मानमाथिको भुक्तमानको कविता सुनाउनु भयो, त्यस्तै पेम्बाले भीमबहादुर लामाको गीत सुनाए, “आलु र तामा हजुर खान्न भन्छिन् आमा...बोलको । प्रतिष्ठित स्वरका धनी गायक थला परेको कुराले सबै जनाको मन एकछिनसम्म अमिलो भयो ।
तिर्खाले जिब्रो चल्न सकिरहेको थिएन । चौरा खोलाको मुहानबाट ल्याइएको कञ्चन पानी धित मर्ने गरी पियौं र फायर लाइन हुँदै लामिटारतिरबाट भुन्द्रुङ छिचोल्दै बस्तिपुर तर्ने कुरामा सहमति भयो । पूर्वपश्चिम लोकमार्गदेखि सरदर दुई तीन किलोमिटरको फरकमा खनिएको फायर लाइन बाटो तत्कालीन महेन्द्र राजमार्गभन्दा पूरानो बाटो भएकोले सेनाका गाडीहरु कुद्ने र चितवनको ठोरीदेखि वीरगञ्जसम्म तोरी लगी तेल पेल्ने बाटोको रुपमा प्रयोग भएको कुरा मेरा बुवाबाट थाहा पाएको थिएँ । त्यस्तै महेन्द्र राजमार्ग बनेपछि अन्य सवारीहरु फायर लाइनमा कुद्न छोडे भने सेनाका गाडीहरु पनि द्वन्द्व कालसंगै कुद्न छोडे र खनिएको चुरे जंगलभित्रको बाटोमा रुख उम्रिएर बाटो नै बन्द जस्तै भयो । सरकारको कृषि मार्गको योजना यसै बाटोमाथिको योजना भए पनि झण्डै चालिस बर्षसम्मको बुढो बाटोमा ग्रेभलसम्म नओछ्याइएको कुराले पत्रकार साथी हरिमानले यसै बारेमा विकास समाचार लेख्ने प्रतिक्रिया दिए ।
बजारमा जस्तो माग्नेहरुको झुण्ड गाउँमा कतै देख्न पाइएन । जो थिए, कुटो कोदालोमै व्यस्त थिए । जुनसुकै व्यवस्थामा भोट माग्नेले देखाउने लालचमा मख्ख परेर भोट दिनेहरु वाक्क दिक्क भएका छन् । पूल, बाटो, विद्यालय, मन्दिर, खानेपानी, कुलो आदिलाई विषय बनाएर भोट माग्ने माननीय नेता माग्नेहरुको कहानी बाटोमा भेटिएका गाउँलेहरुबाट सुन्न पाइयो । अब माग्न आए जोगीलाई तिघ्रे बारीमा जोत्न जा, अनी भिक्षा दिउँलाभनेर गाली गरेझैं नेतालाई पनि तिघ्रे हाम्रा छोराछोरी राजनीतिमा लोगर बिग्रेभन्नु भन्दै व्यंग्य पनि गरेँ । यसैले भोट माग्ने र नोट माग्नेको माग्ने उपाय पनि फरक हुन थालेको छ । माग्नैकै कुरालाई जोडेर शान्ता दिदीले तराईका जिल्लाहरुमा दाइजो माग्नेले आजकल गाडी माग्न छोडेर पेट्रोल माग्न थालेको कुरा सुनाउँदा हाँसोको अट्टहास गुञ्जियो । सालीको बिहेमा जान कोट सापटी माग्ने र तीज मनाउँन अरुका गहना मागेर काम चलाउनेहरु कुन माग्नेको कोटीमा पर्ने हुन् भन्ने कुराले पनि बाटो काट्न सजिलै भयो ।
तरकारीमा प्रसिद्ध हाँडिखोलालाई सरकारी विकासले दशकौंदेखि नदेखेको कुरा बटुवाहरुले सुनाए । विद्यमान भद्रगोल र धिमा विकासका कुरा गरेर दिन त के दशक पनि नसकिने भन्दै दुर्गा दाईले हिँड्दा हिँड्दै बनाएका केही नाराहरु पनि सुनाए । उहाँकै शब्दमा सम्भावित तेश्रो जनआन्दोलनको लागि बनाइएको नारा यस्तो थियो, “पानी ट्याङ्कीमा हरिया नोट, एउटा कुर्सी पचास चोट”, “एक जनाको पाँचोटा भोट, संविधान सभा भेडी गोठ”, “आउने चुनाव पैसाको बोट, भ्यागुतालाई स्टकोट
बस्तिपुरको झोलुङ्गे पुल तरेर हेटौंडा आउन म्याजिक यातायात चढ्यौं । म्याजिकको ढोकामा बसेकाले थानाभर्‍याङमा टाउको भित्र राख्न चालकको उर्दी सुन्दै गर्दा त्यहाँ लामाको गीत बजिरहेको थिएन, त्यहाँ त बज्दै थियो, “चोली के पिछे क्याहे...। हामीले कुरा गरेको गायक, तिनका  गीत र बज्ने गीतहरुमा भिन्नता पायौं । आश्वासनको राजनीति र देखेको राजनीतिमा धेरै भिन्नता रहेछ । हामीले सुनेका, बुझेका र भोगेका राजनीतिक घटनाहरु तपसीलका कुरा पो रहेछन् । नेताले बनाएका नयाँ नेपालभन्ने शब्द र गायक भीमबहादुरका छेपारोलाई जामा र भ्यागुतालाई स्टकोटउस्तै उस्तै लागिरह्यो । अस्तु । (मकवानपुरकी पहिलो महिला सम्पादक सरीता दहालद्वारा सम्पादित उद्घोषक साप्ताहिकमा प्रकाशित) www.facebook.com/nepali.sampraspaudel २०६९

No comments:

Post a Comment

तपाईँलाई यो सामग्री कस्तो लाग्यो ? कृपया कमेन्ट गर्नुहोस् ।

च्वास्स २