Thursday, March 14, 2013

नाक काट्ने धुनमा


धेरै पत्याउँदा कहिलेकाँही आफ्नैले पनि धोका दिन्छन् । वैदेशिक रोजगारमा हिँडेका माइला दाईले श्रीमतीलाई धेरै पत्याएकैले सिरिखुरी उनकै नाउँमा पास गरेर गएछन् । विदेशमा कमाएका धनसम्पत्ति पनि रेडियो, टि.भि. र पत्रिकामा विज्ञापनलाई पत्याएर आएमई, हिमाल रेमिट इत्यादि हुँदै उनकै नाउँमा पठाएछन् । फर्केर आउँदा न रह्यो सम्पत्ति न बसिन् श्रीमती । विदेश गएर धनको बर्षा गराउँने र नयाँ घर बनाई गमलामा मनीप्लान्ट रोपेर गलामा हिराको हार लाउने धोको पु¥याउँन सबै सम्पत्ति बेचेर लोग्नेलाई पत्याउँदा पत्याउँदै अर्कैसंग पेपर म्यारिज गरी विदेशिएका लोग्ने उतै घरजम गर्न लागेपछि पहिलो श्रीमतीको कन्तविजोग हाम्रै गाउँघरका ज्वलन्त उदाहरण हुन् । अझ एकमुष्टमा हाम्रा प्यारा अवसरवादी नेताहरुलाई पत्याइदिएरै शताब्दीदेखिको हाम्रै शासन पद्दतिको मुख ढाक्नु न लाज ढाक्नु हविगत भैरहेछ । त्यसैले त रुपचन्द्रले भनेको हुनुपर्छ “.....पत्याउने जति बिग्रे” ।
उबेलामा राणा शासन ढलेपछि देशले विकासको फड्को मार्छ, जनताको उन्नति हुन्छ भन्दै कांग्रेसहरुले राजनीति नजानेका मेरा हजुरबाहरुलाई हुक्काको लतबाट राजनीतिक लतमा पु¥याए । पञ्चेहरुले उनै कांग्रेसी हजुरबाहरुलाई हातमा लिएर गाउँभरिकालाई “हाम्रो राजा हाम्रो देश, प्राणभन्दा प्यारो छ” भन्न लगाए । प्राणभन्दा प्यारो मानिएका राजाको आधा विरोध बाँकी समर्थन (दोहोरी) गर्दै मेरा बालाई एमालेहरुले “बहुदल आए त देशले काँचुली फेर्छ” भन्दिए । बहुदल पनि आयो, बहुदल मात्रै हैन यसको संख्याले शतक नै पार ग¥यो । देशको काँचुली फेर्ने क्रममा पूरानो काँचुली बदलेर नांगै बनाइदिए । गणतन्त्रमा बहुदल पाएका र नपाएका सबै मिलेर राष्ट्रगौरवको शिर सगरमाथामाथि टेकेर नेपालीको मान प्रतिष्ठामा पिसाब गरे । त्यही पिसाबको न्यानोमा रमाइरहेकाहरु 'झिंगाले आहा कत्ति सफा खानेकुरो भन्दै फोहरमा जिन्दगी बिताएझै' आफ्नो सात पुस्ता त्यही बिताउन पाउँ भन्दै कामना गर्दैछन् ।

“देश विकासमा आमूल परिवर्तन र अग्रगामी छलाङ मार्ने” भन्दै ‘पूराना संरचना भत्काउने र नयाँ संरचनाको निर्माण गर्ने’ नारा बोकेका माओवादीहरु भूमिगत भई नजिकको भारत र हङकङलाई छोडेर स्वीटजरल्याण्ड र लण्डनको सपना देख्न थाले । हामीले पनि उमेर नपुगेका कलिला छोराछोरीलाई नागरिकता बनाउँदै धेरै भोट दिएर उनीहरुलाई बहुमतको घेरा नघायौं । जब सारा नेता, कार्यकर्ता, भु.पु. मन्त्रि, मन्त्रायणी, भु.पु. सभासददेखि नवनिर्वाचित सभासदसम्म काठमाण्डौका रेष्टुराँ, बार र रिसोर्टमा देशको चोटको बहानामा भोटको कुरा गर्नमा व्यस्त भए, उनका लागि त्यही नै हरिया नोट र स्वीटजरल्याण्डको अठोट साबित भयो । बरु लाखौं युवाहरु बेरोजगारीको सर्टिफिकेट भिर्दै मदरल्याण्ड छोडेर गोराल्याण्डतिर लागे । त्यसपछि देशलाई हारेका र आ(आपैंm जितेका नेता सबैले एकमुष्ठमा गोबरल्याण्ड बनाइदिए । आजकल सरकार फेर्ने, प्रधानमन्त्रीको कदम सच्याउने, राष्ट्रपतिले म्याद थप्ने र कर्मचारी तथा उर्लँदो बकम्फुसे आन्दोलनहरुले भन्छन्, गोबरल्याण्डकी जय ।
अठार प्रतिशत रेमिट्यान्सले सत्ता चल्न थाल्यो (देश त जनताले तिरेको कर र विदेशी सहयोगले चलिरहेकै छ) । नयाँ संरचना बनाउँछु भन्नेले इतिहास मेट्न थाले । पूराना राजा महाराजा र सामन्तको शालिक ढाल्दै आफ्ना नेताहरुको फोटो पूजा गर्न जनतालाई बाध्य बनाए । नयाँ नेपालको नारा गाएर देशलाई आ–आफ्ना लाज छोप्ने धोति पो बनाए । थुइक्क भन्दै थुक्न लागेका जनताले पनि कतै थुक्न बर्जित गरिएकोमा आफ्नै बुद्धिमा थुके, “कस्तालाई भोट हाली जिताएछौं” भन्दै । डुङ्ग गन्हाएको राजनीतिको कारण नाक छोपी हिँड्ने जनतालाई यिनै नेताहरुले आफूझैं नाक काट्न लगाए, धेरैले त नाकै काटिसके, औंलामा गनिनेहरु अझ मेरो देश मेरो देश भन्दैछन् । कानोका देशमा आँखा चिम्लनु, खोरण्डोका देशमा खुट्टा खोच्याउँनु भन्दा समावेशीकरणको विरोध होला यसैले कागको बथानमा बकुल्ला भएर नकौटोहरुको हुलमा सगमाथाझैं नाक लिएर कसरी हिँड्नु ? इज्जत प्रतिष्ठा र देशपन बेच्नेहरुको हुलमा आफ्नो पनि नाक कटाउँनै पर्ने भो, लौ न नाक काटि दिने कोही छ ? अस्तु । २०६९ फागुन

No comments:

Post a Comment

तपाईँलाई यो सामग्री कस्तो लाग्यो ? कृपया कमेन्ट गर्नुहोस् ।

च्वास्स २