Thursday, May 16, 2013

कलमभन्दा तरबारै ठूलो


कलमको जीत हुने वक्तृत्व गाउँदा गाउँदै
तरबारको भीडमा उभेर तरबारै भई
मैले तँलाई छिनालेँ भने
मेरो देशको संविधान
तँ आँखा चिम्लेर बस्
तैले नेताको गल्ती
कर्मचारीको भ्रष्टाचार
चाकरी र चाप्लुसी सहन सकिस् भने
मेरो तरबारको कथाको मौन पात्र बनेर
बस्दा तेरो पुस्ताले धन्यवाद भन्दा हुन्
नपत्याए पृथ्वीनारायण र भीमसेनलाई सोध्
अझ बलभद्र र अमरसिंहसंग बुझ्
नपुगे जंगबहादुर र लखनथापासंग सिक्
तरबार ठूलो कि कलम ?
म बम्बैमा बेचिएका चेली
अफगानिस्तानमा हेलिएकी चेली
इराकमा मरिरहेका दाजुभाइहरु
भारतमा जुत्ता खाइरहेका साथीहरुको पक्षमा
कलमको बिट मार्दै
तरबारको वक्तृत्व गाउँन चाहन्छु ।
तैले देखेकै हो
नेताको ओठे भाषणले देश चल्दोरहेछ
कलमको कोठे रासनले साहित्य बन्दोरहेछ
तरबारको करामत खै नेताले भन्दै भनेन
तरबारको कविता खै कलमले लेख्दै लेखेन
म उही तरबार लिएर अपराधीहरुको अस्तित्व मेटाउन
लागिरहेछु लागिरहेछु
खबरदार ! कोही पिछा गर्ने होइन
म तरबार भैसकेको छु ।
(मितिः २०६९ मङ्सिर १९ गते२०६९)

No comments:

Post a Comment

तपाईँलाई यो सामग्री कस्तो लाग्यो ? कृपया कमेन्ट गर्नुहोस् ।

च्वास्स २