Thursday, May 16, 2013

बन्दुकेको कहाँनी

पहिला पहिला गाउँ आउँदा ठुल्दाई भन्नुहुन्थ्यो “क्रान्तिका बुटहरुले नछोएको पिँढी त भेट्नै पाइएन ।” म थप्थेँ “यति भएपछि बन्दुकका नालले नछोएको काँधहरु खोज्नुपर्ने कुनै कारणै रहेन ।” उहाँ भन्नुहुन्थ्यो, “क्रान्ति उषाको रवि हो । जो चरम पीडा सहेर पनि जन्मेको शिशुलाई चुम्बन गर्न चाहन्छ, उनी तमाम प्राणी जगकी आमा पनि हुन सक्छिन् । आमाहरु ज्यादा क्रान्तिकारी हुन्छन् । आफूभित्र सिर्जनाका लहरहरु बटुलेर राख्न सक्ने काम आमाहरुबाटै हुन्छ ।” म ठान्थेँ, बन्दुक बोक्नेले यो बुझ्दैनन् । ती विगतका कुरा थिए ।
दाई आज पनि गाउँ आउनुभो, पहिले पहिले जस्तो उहाँ हिँड्दा बाटोबाट पन्छिनेहरु कोही थिएनन् । सबै उनीसँग काँधै ठोक्काएर लडाइदिउँ झै गर्दथे । उबेलाको बारुद बाँकी छ कि भनी मात्रै सोझा गाउँले र लालाबाला मारिएका वृद्धवृद्धा पीडितहरु अनी सुहागरातमै श्रीमान गुमाएका शायद बिबाहित नारीहरु अझै प्वाक्क बोल्न सक्दैनथे ।

बन्दुकको क्रान्ती भएको भन्ने ठुल्दाईका कुरालाई लत्याएर गैरकानूनी तवरले बुइँगलमा लुकाइराखेको फलामे ढुंग्रोको नालवाला धुवाँले ध्वासे दुइनाले बन्दुक मैले अली पर बटुवाले दिसा गर्ने चाक्लो ढुंगोबाट आचीमै पर्ने गरी फाल्दिएँ । दाई जंगिनुभो । “ढुंग्रो त काम लाग्थ्यो नि, या पिटेर खुर्पाको राँवो या करुवा बनाउँनु पनि हुन्थ्यो पाजी ।” क्रान्ति बन्दुक र बारुदले आउँदैनन् भन्ने कुरो जानेरै मैले बन्दुक फालिदिएँ । आमाहरु ज्यादा क्रान्तिकारी हुन्छन् भन्दैमा आमाले गर्ने क्रान्ति बाबाबाट हुनै सक्दैनन् भन्ने मलाई पनि थाहा थियो । दाई पहिले पहिले त त्यही कुरा बुझाउन अनेक उदाहरण दिन्थे, कहिले चिनको त कहिले रुसको, कहिले रोल्पाको त कहिले अछामको कहानी सुनाउँथे । म भने वास्तविक क्रान्तिका परिभाषा बुझ्न थालेको थिएँ । यति बुझ्दासम्म द्वन्द्वकालमा लुकाउन राखेका दुईचार थान थोत्रा थाङ्ना भैसकेका डस्ना र केही थान आलै भैंसीको झैं देखिने छालाका अररा जुत्ताहरु बाँकी थिए । दाइ आपैंmले क्रान्तिकारिताको परिभाषा नै लोप भैसकेको ठानेर हो कि किन हो उही ढुंगाबाट आचीमा थ्याच्चै हुनेगरी फाल्दिनुभो र पछाडि फर्किएर पनि हेर्नु भएन । पहिले बन्दुकलाई सिरानी बनाएर हिँडियो, आज उही बन्दुक देख्दा घिन लागेर आउँछ भन्दै कैयौं पटक दाईले दुई गाँस टिपेर छाक छोड्नु भएको थियो । द्वन्द्वकालमा खाँदाखाँदै गरेका गरिब किसानलाई सुराकीको आरोपमा पुग्दो खान पनि नदिई घरबाट अली पर रुखमा बाँधेर गोली ठोकेको कुराले उहाँलाई खानेबेलामा ज्यादै सताउँथ्यो । कहिले बडो क्रान्तिकारी हुने नाउँमा गाई गोरु काटेर मासु खुवाएको भन्ने हल्ला चल्थे । कहिले जम्पिङ घोरल भन्दै बाँदरको मासुको सुकुटी खुवाएको कुरा गर्थे । “आज त एउटालाई एक बुक तास ख्वाइयो नि, घाँटीमा अड्केर प्याकप्याक हुँदाहुँदै छोडेर आएको” दाई खुब रसले भन्नुहुन्थ्यो । “हेरी राख् अब देशमा के हुन्छ, कायापलट हुन्छ कान्छा कायापलट, त्यसपछि बन्दुक बोक्ने सत्तामा पुग्छ र सत्तामा बस्ने हाम्रो पैतालामुनि आइपुग्छ ।” दाई कल्पीकल्पी भन्नुहुन्थ्यो भूत भविष्य र वर्तमानहरु । कहिले बर्दीवालालाई पछ्याउँदा पछ्याउँदै हानेको गोली बर्दिवालाले छेकेर अर्कैलाई लागेर भीरबाट गुल्टेको कुरा सुनाउँनुहुन्थ्यो । कहिले अनुहारमा पेट्रोल छर्केर त कहिले लिङ्ग छेदन गरेर भौतिक यातना दिएको कथाहरु खुब सुनाउनु हुन्थ्यो । पहिले त्यसैलाई क्रान्ति ठान्ने यी ठूल्दाईले आफूलाई हत्याराको प्रमाणित गराउँदै कुनै दिन सलण्डर गर्न पनि बेर छैन भन्ने पनि लागेको छ । बाहिर जति जंगबहादुर भए पनि भित्रभित्र यिनी पलपलमा पद्मशमशेर हुँदै थिए भन्ने मैले सोचेको कुरा हो । क्रमशः लेख्दै

No comments:

Post a Comment

तपाईँलाई यो सामग्री कस्तो लाग्यो ? कृपया कमेन्ट गर्नुहोस् ।

च्वास्स २