Saturday, June 8, 2019

सरकारी लुटेरा

म पनि गाउँकै हुँ भन्दै
गाउँ छिरी मकै भुटेर खायो ।

चुनावअघि माया गर्नेले
शहर पसी लुटेर खायो ।

छोक्रा बन्दै रसादी आउँन छोडेपछि
निचोरेर नपुगी घोटेर खायो ।

जनताका जति रित्तिँदै गएपछि
सदनमा अर्कालाई कुटेर खायो ।

पसिनाको पूजा गर्छु भन्नेले
सरकारमा अरुसँग जुटेर खायो ।
२०७६ जेठ २५

 हेटौंडा-५




Tuesday, May 28, 2019

समृध्दीले डकारेको देश

समृध्दिलाई चिन्न नसक्नेहरू ।
---
ए पूरातनवादीहरू,
ए विकास विरोधीहरू,
ए प्रतिगामी र षडयन्त्रकारीहरू,
ए दृष्टीभ्रम पालेका,
समृध्दिलाई चिन्न नसक्नेहरू ‌।

देशमा केही छैन भन्नेहरू हो,
देशमा विकासै विकास भन्दा के छ,
नपत्याए भित्रि मनले हेर्नोस् त,
कानले देख्नोस्, आँखाले सुन्नोस् त ।

कान्लामा आची गर्दा बेशीँ पुग्छ,
यस्ता प्रविधिलाई विकास नभन्ने?
सडकको धुलो जम्मा गरेर
गमलामा धान रोप्न मिल्छ,
यस्ता गतिविधिलाई विकास नमान्ने?

अब विकासका नाम फेर्ने बेला भो,
सबैले विदेशी नाम राख्न थाले,
कसरी विकास विकासै भैराख्ने हो,
विकास बहादुर थापाले कक्षा ८ मै नाम फेरेछ,
निकास अधिकारीले पनि नाम फेरेछ,
अब सन्तानको नाम विकास राख्नोस्,
समृध्दि, परिवर्तन र निकास राख्नोस्,
राजदूतको पद साली र सालामा,
अनि विकास र आमूल परिवर्तन हाम्रै पालामा ।

अनी सुन्नोस्,
डुङ्गालाई जहाज भनौँ,
३० फिटे गाडीलाई रेल मानौँ,
पुलिसले समात्ने बित्तिकै छानविनविनै अपराधि घोषणा गरौँ,
बा आमाको अर्तीलाई बल मिचाईँ मानौँ,
रुखो खेतमा परेको शीतलाई सिँचाई मानौँ । ।

माल पाएर चाल नपाएको भन्दै
विदेशीले हकारेको देश,

स्वदेशीले नागरिकता त्याग्दै

विदेश पुगी खकारेको देश, 

नेता र कर्मचारी मिली भगतमा

चोरमाथि चकारेको देश ।

आफ्नो दुनो अन्त तेर्सिँदा,

एकले अर्कोलाई हकारेको देश,

खान्न खान्न लोकाचार राख्दै डकारेको देश ।

यसैलाई ठानौँ नयाँ नेपालको रीति,
कत्ति पनि प्रेसर नबढाउनोस्,
देशमा विकासै विकास रहेछ, 
घोडाको गोबर, गाइको लिती,
यै हो खितिति हाँसो उठ्ने समृध्दि ।


Thursday, May 9, 2019

उखु किसान र नाथे मास्टर

यहाँ त खाली दिमाग भएकालाई देश विदेशका भविष्य कोरिदिने शिक्षकलाई 'नाथे मास्टर' र दुनियाँका मुखमा माड भरिदिने कृषकलाई 'खेतिपाति गर्ने मान्छे' कै  पगरी काफी छ । म शिक्षक हुँ वा म कृषक हुँ भन्दा राज्यको पहिलो दर्जाको नागरिकका हैसितले ढक्क छाति बनोस् न । पेशा गर्नुको मज्जा पनि त्यसमै हुँदो हो ।
                          
 आजकल यी दुवै पेशा उस्तै उस्तै लाग्छ । उखु किसान रसिला उखु उत्पादन गर्छन्, त्यसको फाइदा चिनी मिलले लिन्छ । किसानसँग उखु लिएर ४ वर्षमा पनि भुक्तानी गर्दैनन् ।
शिक्षकको तलब पनि उस्तै हालतको हुन्छ । वर्षभरि अध्यापन गर्छन्, आफ्ना प्रयोगशालाबाट देशका भावी प्रशासक, राजनीतिज्ञ, इन्जिनियर, डाक्टर, कलाकार आदित्यादी उत्पादन गर्छन् । तर रगत र पसिनाको मूल्यमा जहिल्यै अवमूल्यन हुन्छ । चैत्र र बैशाख महिनाको तलब जेठमा पाउँछन् । साउन महिनादेखिको तलब एकैपटक दशैंतिहारमा पाउँछन् । 
यस्ता पीडित कत्ति छन् कत्ति भन्दै चित्त बुझाउनु यी दुवै पेशाधारीको बाध्यता भैसकेको छ ।
तपाईँ भन्नुहोला कुन नयाँ कुरो भो र ? भारतमा कपास खेति गर्ने कृषकहरुले आत्महत्या गरेको दर बढी छ । हङकङमा व्यवस्थापकको तनावले एक शिक्षिकाले आत्महत्या गरेकी छिन् ।  नेपालमा त्यसो भएको छैन । यत्ति फरक हो कि ! कामको चाप धेरै भएर मर्नु परेका घटनाहरु नयाँ छैनन् ।  उखु किसानहरुले आत्मदाहको धम्की दिनु परेको छ भने शिक्षकले महिनाभरि काम गरेर पनि पारिश्रमिक हात नपरेपछि घर झगडा गर्नु परेको छ । कतिपय पक्षहरु देखिँदैनन्, लेखिँदैनन् पनि ।
समाचारमा बरु यस्तो छापिन्छ, "शिक्षकले फेल गराएपछि छात्राद्वारा आत्महत्या", अब प्रतिकृया यसरी शुरु हुन्छ "त्यो शिक्षकको नाममा कलंक हो । त्यसलाई त फाँसी दिनुपर्छ ।...." कारणहरु खोजिँदैनन्, नीतिहरु बनाइँदैनन्, प्रयोगात्मकभन्दा घोकन्ते शिक्षा प्रणाली छँदैछ । विद्यार्थी अनुत्तीर्ण भएका कारणहरु शिक्षक मात्रै बनाइन्छन् ।
बजार पनि यस्तै छ, जे बिक्छ, त्यही बेच्ने चलन पूरानै होइन र ?
राजनीति गर्नेहरु केका लागि र कसका लागि गर्दैछु भन्ने बिर्सेर कमाउ धन्दामा लागेका छन् । राजनीति गर्नेमा शिक्षक नै अगाडी पर्दछन्, आफूले नेता बनाएकाहरु दिनानुदिन नयाँ नयाँ "राजा" बन्दैछन् भने शिक्षकले केका लागि राजनीति गर्ने ? कसका लागि राजनीति गर्ने ? समाजसेवाका नाममा विद्यालय प्रवेश गरेका राजनीतिज्ञहरु जीवनभर सरकारका कर्मचारीको हैसियत भएकाहरुलाई आफ्ना मुठ्ठीभित्र राख्न चाहन्छन् । आफ्ना हैसियत, योग्यता र क्षेत्राधिकार बिर्सिएर मनलाग्दी ओठे निर्णयहरु गरिरहेका छन् । शिक्षकमाथि अनावश्यक दबाब दिनेभन्दा खुशी बनाएर सेवा लिन सकिन्छ भन्ने ज्ञान उनीहरुलाई कसले दिने हो ? कुन स्कूलको शिशु कक्षामा भर्ना गर्ने उनीहरुलाई ? सुध्रिन हतार भैसकेको छैन र ?
समग्रमा देशमा राजनीतिक परिवर्तनपछि पनि उखु किसान र शिक्षक दुवैले अन्याय भोगी नै रहेका छन् ।  हुन त कृषि नीति, कार्यक्रमहरु सदरमुकाम र तारे होटलहरुमै सीमित हुँदा उखु किसान मात्रै नभएर कृषि क्षेत्र नै खाडलमा भासिसकेकाे छ । किसान र शिक्षकको यी समस्याहरुको समाधान यथाशीघ्र हुनु जरुरी छ ।

Wednesday, May 1, 2019

झूठा मिडिया

झुठा मिडियाहरूको बिगबिगी छ, छानेर पढौँ, सुनौँ ।
* मिडिया हिमालमा 'यति'को पाइला भन्दै हुङ्कार गर्छ
* निर बिरालोलाई डार्विनको विकासवादी सिध्दान्त अनुसारको परिवर्तित जनावर भन्दै हल्ला गर्छ
* अनुजाले पैसा भेटेर फिर्ता गरेको भन्दै राष्ट्रपति, प्रधानमन्त्रिको बधाई छपाउन व्यस्त हुन्छ
* रातोपाटी र सेतोपाटीहरू आ-आफ्नै पार्टीका डम्फु बजाउँदैछन्
* नेकपा नेताका कर्तुत खुलाउँदा कांग्रेसका कुरा निकालेर तैँ चुप मैँ चुप गराउछ
* सँगसँगै बसेर जाँड पान गर्नेको नकारात्मक समाचार हेर्दा पनि हेर्दैन
* सबैलाई भाइरल हुनुपर्ने नाउँमा व्यक्तिगत र पारिवारिक गोप्यतामा मानहानी
* एनसेल प्रकरणमा कतिपय मिडिया विज्ञापन नआउने डरले लेख्दै लेख्दैनन्
* फेसबुकबाट समाचार चोर्ने चोर मिडियाको विगविगी बढेको छ, आफू फिल्डमा जानुभन्दा अरूको पोष्ट पर्खेर आफ्ना मिडिया चलाउनेको विगविगी छ
हो अब,
आफूलाई आनन्दित राख्न चाहनुहुन्छ भने समाचार पढ्नै छोड्नुस् ।

Tuesday, April 9, 2019

आभासः मलाई मनपर्ने व्यक्तित्व-१

पञ्चायतकालमा देशमा आमूल परिवर्तन गर्छु भन्ने नेताहरुले आफ्नै बोली बिर्सँदै गएको कारण लेखिएको एउटा गीत, जुन अहिले पनि उत्तिकै महत्व राख्दछः
गीतकार, संगीतकार र गायकः आभास (अच्युतप्रसाद फुयाँल)

Sunday, March 31, 2019

कपी-पेस्ट


सामाजिक सञ्जालमा मनमा लागेका कुराहरू पोष्ट गरिन्छ । फेसबुकमा कसैले फोटोमाथि फोटो, फोटोमुनी फोटो, दायाँ फोटो, बायाँ फोटो, फोटो अनी फोटो... मात्रै पोस्ट गर्छन् । कसैले टेक्स्ट (अक्षर), साहित्य, विचार, सिध्दान्त, समाचार आदि पोस्ट गर्छन् । कोही सबै मिलाएर पोस्ट गरिरहेका हुंझझजझझझन्छन् । तीमध्ये कोही भिडियो, टिकटक आदित्यादीमा अल्मलिन्छन् । कोही स्रोत नलेखी अरूकै पोस्ट कपि गर्छन् र आएको कमेन्टमा फुर्किन्छन् । कोही कपि पेस्ट मात्रै लेख्छन्, स्रोत राख्नु आवश्यक ठान्दैनन् । यूट्युब पनि यसमा अछुतो छैन । गीत, फिल्म, विविध भिडियो कपी गर्दै पोष्ट गरिएका हुन्छन्, जहाँ सर्जक वा अधिकारवालाको कुनै सहमति नै हुँदैन ।
कपि गर्दा के के हुँदोरैछ, तल पढौँ है त ।
१. ओरिजिनल: इन्जिनियर हुँ भन्दै बिहा गरेको केटो १० कक्षा मात्रै पास
कपी: नयाँ वर्ष २०७५ अफर:- १० कक्षा पास गर्नुहोस्, इन्जिनियर केटी बिहा गर्नुहोस्
२. ओरिजिनल: अनमोल केसीसँग फुलन्देकी आमाको रोमान्स
कपी हुँदा: अनमोल केसीले फुलन्देकी आमालाई बिहा गर्ने, फुलन्दे पनि खुशी
३. ओरिजिनल: भिटेनले आफूभन्दा कान्छोलाई दाई भने
कपी हुँदा: वेनटेन र भिटेन दाजुभाई
४. ओरिजिनल: चिया पसलबाट म्यासेन्जरमा SEE प्रश्नोत्तर
कपी हुँदा: परिक्षा हलबाट म्यासेन्जरमा चिया पठाउँदै
५. ओरिजिनल: लालबाबु राउतले थरको पछाडी गद्दी थपे
कपी हुँदा: लालबाबु पण्डितद्वारा गद्दी आरोहण
६. ओरीजिनल: परीक्षा दिन जाँदा करिष्माको गाडी पञ्चर
कपी हुँदा: करिष्माको पञ्चर हुुँदा परीक्षा दिन ढिला ।

Tuesday, February 19, 2019

प्रचण्डलाई ठीक पार्ने भेनेजुएलाको झाँक्री


हास्यव्यंग्य लेख
संप्रस पौडेल
प्रचण्ड परिचय
मिटिङ, भेटघाट, रिबन कटाईदेखि रुमाल लुकाईसम्मका इनडोर, आउटडोर खेलकूद सकेर घरमा पुगेका प्रचण्ड । वैद्य बाले उहिल्यै आश मारेका प्रचण्ड, मुनामदनझैं रहेकामा बाबुरामले पर्सबाट फोटो निकालेर फालेका प्रचण्ड, विप्लवले दादागिरी देखाउदै चोरी औंला ठड्याउदै थर्किएका प्रचण्ड । त्यहीमाथि माओवादको रापले पिल्सिएर पनि डढिसकेका पाप्रो बनेका प्रचण्ड ।
प्रसंग यहाबाट शुरु हुन्छ,
आजकल प्रचण्डलाई उतिसारो निद्रा लाग्दैन । त्यसो त उनलाई द्वन्द्वकाल र पछि पनि निदै्र पो कहिले लाग्यो र ?
रातको मध्य प्रहरसम्म निद्रा नपरेपछि एक गिलास पानी पिएर निदाउन पुग्छन् । सपना देख्छन्, सपनामा रेखा थापाहरु कम्मर हल्लाई हल्लाई नाचेको देख्छन् । आपूm पनि कुम मर्काई मर्काई नाच्छन् । रेखा थापा भन्छिन् सीता दिदीलाई कस्तो छ ?”, प्रचण्ड भन्छन्, “नाच नाच, हालखबर पछि भन्दै गरौंला । आपूmलाई खुब मुड आइराछ ।”.......
एकछिनमा प्रचण्ड चर्का स्वरले भत्भताउन थाल्छन् । प्रचण्ड पत्नी उठेर झक्झकाउनु हुन्छ, कान निमोठ्नुहुन्छ । धेरै समयपछि निद्रामा परेका उनी पैतालामा काउकुति लाएपछि असिनपसिन हुदै बिउझन्छन् । प्रचण्ड पत्नी सोध्नुहुन्छ, “किन नराम्रो सपना देख्नुभो ?” फूलाई चिमोट्दै उनी भन्छन्, “हैन रेखा थापालाई देखे प्रचण्ड पत्नी भन्नुहुन्छ, “फेरि नाचेर भाइरल हुन लाग्यौ कि क्या हो बुढेसकालमा, कत्ति पात्तेका हौ?” प्रचण्ड भन्नुहुन्छ, “त्यसो होइन क्या, रेखाले मलाई के भनिन् सुन्छौ ?” “के भनिन् त?” “भेना भनिन् ।” “के भन्नुपर्थ्यो?” प्रचण्ड पत्नी मुख छोप्दै हास्दै भन्नुहुन्छ, “भेनेजुएलाको विज्ञप्तीले तर्साको बुढो, भेना शब्द सुन्दा तर्सिन्छ भनेको यही हो ।
अब प्रचण्डलाई ठीक गर्ने झाँक्री खोज्न भेनेजुएला नै जानुपर्ने भो कि !
प्रचण्ड पत्नी हासिरहन्छन्, प्रचण्ड यसैमा मख्ख पर्छन् ।

Monday, February 18, 2019

साथीलाई पत्र: देशाँ कुकुरको नि भाउ बढ्यो

सन्दिपजङ्ग कार्की, मेरा अनन्य मीत्र । विदेशबाट नेपाल आउँदै रहेछन् ।
यही सम्बन्धमा फेसबुकमा लेखे:
लाख कमौने म “लुट्न सके लूट कान्छा” बोलको गीत सुनेर देश फर्किँदै छु ।
-------
उनै साथीलाई मेरो जवाफ:
स्वागत छ, देशाँ धेरै चेन्ज आयो साथी, तीमध्ये दुईचारोटा उदाहरण यी हुन् :-
* देशाँ लुट बन्द भैसक्यो:
पशुपति शर्माले गीत अपलोड गर्दा चोरैचोर थिए, ती सबै गीत हटाइसकेपछि सँगै हटिसके ।
* पहिले पहिले बाटामा हिँडेको भुस्याहा कुकुरलाई अब 'वरीष्ठ कुकुरज्यू' भन्नुपर्ने भैसक्यो ।
* यमराजको शासन च्यूत गराई रावणलाई जिम्मा दिइएको छ ।
* तिमी विदेश जाँदा चोकचोकमा भुक्ने कुकुर म्याउँ गर्न थालिसके ।
* अब कुकुरलाई नभूक् भन्न पाइँदैन, नभुक्नुहोस् भन्नुपर्छ ।
* प्रहरीले पद दिएर कुकुर पालेको छ । अपराध पत्ता लाउँछन्, खेलकूद गतिविधि देखाउँछन् । ती पनि कुकुर ।
* सबै चोकचोकाँ पछाडीका खुट्टाले ख्वार्र ख्वार्र पैतृक लुतो कन्याउने लुते कुकुर के हुन्छन् र? तिनका पनि कुकुरले खाई नसकिने गरी अधिकारकर्मी जम्मा भैसके ।

यत्तिका परिवर्तन हुँदा पनि पत्तै नपाउने भद्रकाली कपाली, तिमी कस्ता नेपाली ? 

Sunday, February 17, 2019

सेतो अण्डा र कालो झण्डा


कुनै देशमा ब्रोइलर कुखुरा र लोकल कुखुरा सँगै बस्दथे । दुवै सँगसँगै हुर्कँदै थिए ।
लोकल कुखुराको बिहा गर्ने दिन आयो । उसका साथीहरुले एउटी तरुनी कुखुरीको फोटो देखाए । उसलाई पनि राम्रै लाग्यो । ब्रोइलरलाई त्यो फोटो देखायो । उसले विरोध गर्दै पहिलो पटक कालो झण्डा देखायो ।
---------------
लोकल कुखुराले साइत जुराएर बिहा गरे । हनिमुन गए । बाटामा ब्रोइलरले कालो झण्डा देखायो । केही समयपछि कुखुरीले अण्डा पार्न थाली । अण्डा नपार्नु भन्दै ब्रोइलरले यहाँ पनि कालो झण्डा देखायो । उसलाई लाग्थ्छ यो शान्तिपूर्ण विरोध हो । हुन पनि हो, कालो झण्डा सांकेतिक विरोध हो तर पारीसकेको अण्डा कसरी फिर्ता गर्ने हो लोकल कुखुरादम्पत्ति अचम्मित थिए । घर मालिकले अण्डा जम्मा गर्दै गर्दै डोकोमा पराल राखेर ओथार बस्ने स्थान सुरक्षित गरिदिए । कुखुरी ओथार बसी । लगभग १८-२० दिनको बीचमा सबैजसो अण्डाबाट चल्लाहरु निस्किए ।  चल्ला फिर्ता गर्नु भन्दै ब्रोइलर जताततै कालो झण्डा देखाउँदै हिँड्न थाल्यो ।
---------------
उता लोकल कुखुराका साथी ब्रोइलरलाई आफ्नो बिहे नभएकोमा अनौठो लाग्यो । ज्योतिषकोमा देखाए । ज्योतिषले न्वारानको नाम सोधे । ल्याबोरेटरीमा जन्मिएको हुनाले आफ्नो न्वारानै गर्न बाँकी रहेको उसले जनायो । उनको लिङ्गीय पहिचान सोधे । बाउआमा र उ जन्मेको देश सोधे । कतै कहिल्यै कसैले नसोधेका प्रश्न सुनेर ब्रोइलर अवाक् रह्‍यो र चुपचाप घर फिर्‍यो ।
एक दिन उ न्वारान गर्नका लागि पण्डितकोमा गयो । पण्डितले चार चार महिना बितिसक्दा पनि न्वारान नभएकोमा अब न्वारान गर्न नहुने अड्डी राखे । ब्रोइलर बिहे गर्न केटी जुराउन  थाल्यो । कुनै केटी जुरेन । केटीका घरमा जाँदा विभिन्न प्रश्नहरु सुनेर उ सँधै कालो झण्डा देखाउन माहिर भैसकेको थियो ।
---------------
निकै दिनदेखि ब्रोइलर कुखुरा हराएकोमा मालिक रिसाइरहेका थिए । रिसाएकै मालिकका अगाडी उसले विरोध स्वरुप कालो झण्डा देखायो । मालिक झनै रिसाए । उसलाई थुनिदिए र टोलभरी डुङ्गडुङ्ती गन्हाउने गरी खाना, दाना, नाना, पानी सबैको व्यवस्था गरेर थुनेर राखिदिए । एकै ठाउँमा कुँजिनु परेकोमा ब्रोइलर दिनदिनै बुढो देखिन थाल्यो । ब्रोइलर

लोकल कुखुरा भन्थ्योः भाला, खुकुरी, बम बारुद र टायर जलाएर गरिने आन्दोलनभन्दा कैयन गुणा स्वच्छ आन्दोलन हो कालो झण्डा प्रदर्शन । लोकल कुखुरा अझै सम्झाउँथ्योः कस्तो अवस्थामा कालो झण्डा प्रदर्शन गर्ने भन्ने बुझेर मात्र गर्नुपर्छ । प्राकृतिक र सामाजिक अनी आफ्नो भूमण्डलकै विरोध जनाउने गरी कालो झण्डा प्रदर्शन गर्नु हुन्न भन्ने उपदेश दिन्थ्यो ।
---------------
किन चाउरिस मरिच् आफ्नै पिरोले भनेझैं लोकल कुखुराका सेतो अण्डा र त्यसबाट चल्ला कोरल्ने चाहना दिनदिनै चाउरिँदै गएको थियो । अब जीवनको अन्तिम समयमा उसको क्लोनिङ गराएर अरु कुखुराहरु उत्पादन गराइन थालियो । त्यसपछि ब्रोइलर कुखुराको आयू ४५ दिन र लोकल कुखुराको आयु त्यसको दश गुणा अर्थात् ४५० दिन हुन थाल्यो भन्ने भनाई छ ।

पशुपति शर्मा विवादमा

पशुपति शर्मालाई 'लुट्न सके
लुट' गीतले विवादित बनाइएको छ । केही दलका भातृ संगठनले गीतको चर्को आलोचना गरेका छन् । आफैँले अपलोड गरेको गीत भने हटाइसकेका छन् । आलोचना गर्नेहरूप्रति यस सम्बन्धमा केही प्रश्नहरू राख्न चाहन्छु ।
१. Vten का 'चुरोट' र Okharz का 'गाँजा' गीत तपाईँका बालबालिकाले गाइदेओस् भन्ने लाग्छ?
२. लुट फिल्म नेपालमा नयाँ ट्रेण्ड ल्याउने फिल्म बन्यो, यसको सन्देश के हो? (पशुपतिकै गीतझैँ हो यो, यस्तै हुँदैछ भन्ने देखाइएको होइन र?)
३. अर्चना पनेरूहरू पत्रिकाका खुराक बनिरहेछन्, सभ्य समाज निर्माणको गति यै हो?
४. एनसेल, वाइडबडी, निर्मला काण्ड, राजनारायण, सुनकाण्ड आदिका विषय गरमागरम भैराखेका बेला व्यंग्य र बेथितिलाई रोक्न शंखघोष गरेका हुन् शर्माले ।
५. चुनाव र राजनीतिक दलका शीर्षगीतहरू गायकलाई गाउन नदिएर कार्यकर्ता र नेताले पो गाउँने हो कि?
६. मह, किरण-राजाराम, दीपक-दीपा, जितु, दमन, धुर्मुश-सुन्तली, सुबोध आदि हास्यव्यंग्य श्रष्टासहित  वात्स्यायन, राजेश केसी, वासु क्षितिज, अविन आदिलाई पनि बहिष्कार गर्ने पो हो कि!
७. मलाई अमेरिका यहीँ गाउँदा वाहवाही पाएका पशुपतिलाई सम्झने हो भने उनी राजनीतिक दल र सबै सरकारबाट निराश पारिएका किसानलाई सम्झेर गाएको कुरा किन बिर्सने?
८. तथ्यगत समस्यामाथि कहिल्यै नबोल्ने, तोडफोड, उद्दण्ड, बन्द, हड्ताल, आ-आफ्ना सरकारको लोलोपोतो गाउँदैमा समय बिताउने जैरेहरू चोरको खुट्टो काट् भन्दा खुट्टो उचाल्नु नेपालमा नयाँ हो र?
९. प्रेम बानियाँलाई लखेटियो, रवि लामिछानेलाई नङ्ग्याउन खोजियो, दल र यिनका पिछलग्गुहरूको पञ्चायती पारा अझै नजाँदा हाम्ले परिवर्तनको महशुस कहिले गर्ने?
१०. आफ्नो हैसियत बिर्सिएर एउटा कलाकारसँग कतिको थुरथुर भएका?
११. अश्लिल गीत र समाज तथा नैतिकता विरोधी गीत गाउँदा चुप बस्ने बिग्रेको राजनीति प्रष्ट्याउँदा नाङ्गै हुन लाग्यौँ भनि डराउने?
१२. अन्त्यमा,
चुरोटको गोलोगोलो धुवाँ, गाँजा खाने दिन गए, ट्याब 'हान्छु' जस्ता गीत बजिरहँदा स्कूले भाइबहिनीमाथि परेको मानसिक असर नदेख्दा पशुपतिलाईचाहिँ शत्रु नै लागेको हो भन्न पाइने कारण नपाइने?
यसो भनिराख्दा जातियता हावी भयो भन्ने आरोप पनि लाग्न सक्छ, यो नेपाल हो, यहाँ जतिखेर जे पनि हुन सक्छ । जनतासामू निर्लज्ज भैराख्दा जो भाको साख पनि गुम्ला होश गरेकै राम्रो ।
#पशुपति_शर्मा #pashupati_Sharma
भिडियोकालागि यहाँ क्लिक गर्नुहोस् ।

Wednesday, January 23, 2019

अहिलेसम्मकै खतरा ज्योतिषको सनसनीपूर्ण खुलासा



नेपालमा दिनानुदिन एकपछि अर्को ज्योतिषहरू भाइरल भैराखेका छन् । यसैक्रममा अर्का ज्योतिष आइपुगेका छन् । ज्योतिष श्री 'नागार्जुन पत्रु'ले अन्य ज्योतिषले घोषणा गर्न नसकेका विषयहरू खोलेर चर्चित बनेका छन् ।

उनका घोषणाहरू:-
१. उखानसम्बन्धमा:
* ७७ सालभित्र केपी ओलीको उखान भण्डार रित्तिन्छ ।
* अन्यत्र छरिएका उखानहरूमा शनीको दोष देखिएकोले तिनले पनि कुनै काम गर्ने छैनन् ।
* उखान रित्तिएपछि बुध्दिजिवीहरूले ठाउँ पाउनेछन् ।
* ओलीको उखानले कुनै काम नगरेपछि बुध्दिजिवीहरूले उखान टुक्का हालेर ओलीलाई खुत्रुक्कै पार्नेछन् ।
२. राजा आउने सम्बन्धमा:
* मैले जस्तै अरू भाइरल ज्योतिषले पनि राजा आउँछन् भनेका छन् । राजा निकट भविष्यमै आउँछन् ।
* आजै मात्रै भुटानकी मुमा बडामहारानी आउनुभयो । स्वयम्भु दर्शन गर्नुभयो । उनले फर्केर जाँदा वस्तुस्थिति बताउँछिन् र भुटानी राजा नेपाल आउँछन् ।

Sunday, December 9, 2018

अन्तर्वार्ता कसरी छोटो बनाउँने ?

एक चर्चित व्यक्तिलाई टेलिभिजनमा लिईएको अन्तर्वार्ता:
प्रस्तोता: तपाइको नाम ?
व्यक्ति: देवदास
प्रस्तोता: तपाइंलाई एक मन पर्ने व्यक्ति ?
व्यक्ति: कालिदास
प्रस्तोता: मन पर्ने पहिरन ?
व्यक्ति: एडिडास
प्रस्तोता: एक मन पर्ने गायक ?
व्यक्ति: कर्णदास
प्रस्तोता: जीवन कसरी बिताउन पर्छ जस्तो लाग्छ ?
व्यक्ति: बिन्दास
प्रस्तोता: तपाइको बिचारमा जीवन के हो?
व्यक्ति: कपास
प्रस्तोता: तपाईलाई मन नपर्ने त्यस्तो केहि चिज ?
व्यक्ति: रुवाबास
प्रस्तोता: सेक्स के हो ?
व्यक्ति: बिहेअघि सहबास‚ बिहेपछि बकवास ।
प्रस्तोता: अन्त्यमा टेलिभिजन हेरिरहनु भएका दर्शकहरुलाई केहि  भन्न चाहनुहुन्छ कि ?
व्यक्ति: स्याब्बास!!!!!! !!
(copied)

हाम्रा मजदुर के मजदुर...


हाम्रा मजदुरहरुले विदेशी मजदुरसँग यही सिकून् ।

यहाँ मजदुर भन्नालेः देशको काम गर्ने नेता र तिनका कार्यकर्ता, विकासका काम गर्ने ठेकेदार र तिनका कर्मचारी, धार्मिक सहिष्णुता जगाउने धार्मिक सन्त महन्त, सामाजिक सद्भाव राख्नमा उद्यत सामाजिक कार्यकर्ता, टेबल वर्कर, फ्याक्ट्री वर्कर, किसान, शिक्षामा समृद्ध बनाउँन लागिपरेका शिक्षक र विद्यार्थी आदि सबैलाई बुझ्नुपर्छ ।

तिम्ले मिस कल गर्दा, भक्कानो सङ्गालिएको खाङ्ग्रे

  तिम्ले मिस कल गर्दा , भक्कानो सङ्गालिएको खाङ्ग्रे यो गीतलाई केवल प्रेमगीतका रूपमा हेर्नु पर्याप्त हुँदैन। श्रवण मुकारुङले यहाँ नेपाली स...