Sunday, August 6, 2017

आलुवाद

- संप्रस पौडेल दिवस

घरजग्गाको भाउ दलालीको हातमा छ । एउटै जग्गा पचास पटक बेचाउँने दलालीहरु छन् । तिनीहरुले राज्यलाई कर तिरेका छन् ? पक्कै छैनन् । एउटा जग्गा बेचेर आएको कमिशनले गाडी चढेर हिँड्ने दलालीहरु तपाईँका छिमेकमा कत्ति छन् कत्ति । जे हुन नहुने हो‚ त्यै हो आलुवाद ।
डिग्री पास गरेको कर्मचारीको तलब २० हजार र उत्तिकै योग्यताको सिइओले २० लाख कमाउँछ । वृद्ध वृद्धाले रोइरोइ कृषी सम्हालेका छन्, युवाहरु विदेशमा पसिना बेच्दैछन् । नेताहरु डलरमा इज्जत बेच्दैछन् । जे नहुनुपर्ने हो त्यै भैराछ । यै हो आलुवाद ।
व्यापारीले किसानसँग उब्जनी किन्छन्, मनलाग्दी मूल्य राख्छन्, दोब्बर तेब्बर र चौब्बरभन्दा बढीमा बेच्छन् । पाँच रुपियाँ किलोको आलु लिएर कोल्ड स्टोरमा ८ महिना राखेपछि पचास रुपियाँमा बेच्न पाइन्छ । यै हो आलुवादको गाँठीतन्त्र ।
यतिसम्म कि व्यापारी कानून बनाउँछन्, जनता खुरुखुरु मान्छन्, सरकारलाई पनि आलुवाद फापेकै छ । बीउ के रोपियो र कस्तो रोपियोसँग सम्बन्ध हुँदैन । वादको मात्रै कुरा हुन्छ । फलिफापको मात्रै कुरा हुन्छ । त्यै हो आलुवाद ।
एउटाले मार्क्सवाद रोप्यो उपलब्धीमा आलु नै फल्यो । अर्कोले माओवाद फल्यो अन्तत आलुकै शरणमा पौनेटो भएर बस्नुपर्‍यो । सबै मिलेर विधि विधानका साथ समाजवाद रोपेको आलुवाद हौसिएको तपाईँहामी सबैले देखेकै हो । आलुवादका पारखीहरुलाई मार्क्सवाद, माओवाद, लेलिनवाद, समाजवाद केही पनि फाप्दैन । हामीलाई हाम्रो आलुवाद खुबै प्यारो छ ।
इतिहासमा कालुवाद, प्रेममा मायालुवाद, बिहारमा लालुवाद र कपालका लागि तालुवाद चल्छ । ताछेको आलु र खुइलिएको तालुमा के भिन्नता छ र ? यसैले तालु हाम्रो बौद्धिकता नाप्ने कशी र आलु हाम्रो नाङ्गो राष्ट्रियताको दशी हो । सार्वभौमिकता त खोक्रा नारा हुन् । आलुवादको भाषण नै हाम्रा प्रतिफल हुन् । आलुवाद आलुवादै हुन्, सफल हुन् कि असफल हुन् । बरु पास ठालुवाद हो भने फेल आलुवाद हो भन्न सकिन्छ ।
मास्टरसाप आलुलाई गोलभेँडा बनाउन खोज्छन् । आलुले कहिल्यै गोलभेँडाको ल्याकत राख्दैन । आलुलाई आलु नै रहन दिनोस् । आलुको वंशनाश गर्ने प्रयत्न नगर्नोस् । यै हो आलुवादको गुदी ।
गुन्द्रुकमा आलु‚ काउलीमा आलु‚ अचारमा आलु‚ आलुमा आलु । आलु नै सर्वमान्य ठालु हो । भैरव अर्यालले त आलुवादलाई ठालूवाद माने । तपाईँ हाम्ले किन नमान्ने ? हाम्रा नेता आलु हुन्‚ तिनका कार्यकर्ता आलु हुन्‚ मास्टर आलु हुन्‚ विद्यार्थी आलु हुन्‚ डाक्‍टर आलु हुन्‚ बिरामी आलु हुन् । तराईदेखि हिमालसम्म फल्ने कुनै बीउ छ भने त्यो आलु नै हो ।
इतिहासमा आलुलाई दौरासुरुवाल वा सारीचोलोमा सजाइयो । विगतमा आलुलाई कोटपाइन्ट र सर्टपाइन्टमा सजाइयो । आलुलाई विदेश पुर्‍याएर बेइज्जत गरिन्छ‚ कहिले टुँडिखेल र रत्नपार्कमा नाङ्गेझार पारिन्छ । कहिले बानेश्वरतिर कहिले हानेश्वरतिर‚ बिहान थानेश्वरतिर‚ बेलुकी तानेश्वरतिर पुर्‍याएर आलुको धर्म परिवर्तन गराइयो । भो अब अति भो‚ आलुलाई आलुबाहेकका वादबाट स्वतन्त्र गरियोस् । आलु छुट्टै सिद्धान्त हो‚ आलु आफैंमा आदि र अन्त हो । बिग्रे पनि बिगारे पनि आलु नै आलु हो । सप्रे पनि सपारे पनि आलु आलु नै हो । यसैले एकस्वरमा भनौं "आलुवाद जिन्दावाद !"
------------------------------------------------------------------------------------------------------------------
समकालीन साहित्य डट कममा पोष्ट भएको ।
Source: http://samakalinsahitya.com/index.php?show=detail&art_id=6130
प्रकाशन मिति : शुक्रबार, 20 श्रावण, 2074
------------------------------------------------------------------------------------------------------------------

यस वेबसाइटमा पोस्ट भएका लेखकका अन्य रचनाहरु

बाहुनका कुरा



व्यंग्यात्मक साहित्य
– संप्रस पौडेल 'दिवस'
नेपालमा नयाँ सँस्कृतिको विकास भएको छ 'नातीको न्वारान‚ बाजेको हैरान' । सय वर्ष अघिको इतिहासको प्रामाणिकता नभेटिएको बेला बाहुनले देश बिगारे भन्दै ढोल बजाइन्छ । यतिखेर बाहुनहरु तै चुप मै चुप भैराखेका छन् । यसर्थ बाहुन भएकै कारणले बाहुनबाट अरु जातिले  अन्याय भोग्नु परेको हो भन्ने भनाईलाई खण्डन गर्दछु ।
पण्डितबाजेभन्दा पहिले टोल चहार्ने पण्डितको झोला बोल्यो‚ "नेताज्यू बिहानै उठ्नुभो । शौचादी कृयाकलाप गरिसकेपछि गायत्रीवाचन गर्दै गौमुत्रले पवित्र भएर गाउँघर चहार्नु भयो ।" झोलाले बोलेपछि सबैले होला भन्ने ठाने । "जय भोला जय भोला" सबैले एकै स्वरमा भन्न भ्‍याए । नाग टाँसेपछि झोला घर फर्कियो ।
आजकल पण्डित बाजे सबैका घरघर चहार्न भ्याउँदैनन्‚ लोकतन्त्रले उनलाई झनै व्यस्त बनाएको छ । उनी घरमै घोत्लिएर इतिहास खोजिरहेका भेटिन्छन् । भन्छन् "मान्छेहरु ज्यादा झोले भए‚ नेताकाभन्दा झोलेका कुरा विश्वास गर्ने‚ झोलेकै विचार मन पर्ने‚ झोलेकै हुट्टीमा ताली बजाउँने । सबै झोले हुन लागेपछि मैले पनि झोलालाई नै गाउँठाउँ घुमाउँछु‚ सबैलाई विश्वास पनि छ ।"
आटो खाने मुखले माटो खानु नपरोस् । क्रान्तिको नारामा मात्रै बाहुनलाई गाली गरिन्छ‚ जब जब शान्तिका कुरा आउँछ तब तब सबैभन्दा पहिला "ॐ शान्ति" गाउँने त बाहुन नै हुन्छ । घरमा सबैभन्दा बढी ॐ शान्ति गाउँने बाहुन नै हो । इतिहासमा सबैभन्दा बढी खुकुरी कसले चलायो त्यो बाहुनवादको विरोधीलाई नै थाहोला । हत्या‚ हिंसा‚ अपराधमा बाहुन कहिल्यै लागेन । बरु बाहुनलाई हेरेर बाहुनको टुपी‚ ढाका टोपी‚ जनाईमाथि प्रशस्त व्यंग्यवाण भए । कहिले काट्टे बाहुन भनियो‚ कहिले बाहुनको टुपी कहिले एन्टेना न एरियल भनियो । जनाईलाई कुखुराको आन्द्रो भनियो । बाहुन‚ बिहान बिहानै डाउन भनियो । गर्न पनि बाहुनलाई डाउन गर्नुसम्म गरियो ।
इतिहासै हेर्ने हो ने बाहुन जहिल्यै पछाडी पारिएका जाति हो । आफ्नै खेतबारीमा हलो जोत्न पाइएन र अर्काको भरमा खेतबारी जिम्मा लाउनुपर्‍यो । पूजाआजामा धुँवामा रूमल्लिएर फोक्सो बिगार्दै बस्नुपर्‍योएउटा बिराउँछ‚ शाखा पिराउँछ भनेजस्तो कुनै एक बाहुनले गरेको अपराधले सबै बाहुन जातिलाई धारे हात लगाउन नमिल्ला कि !
बाहुन बाहुनै हो‚ नुहाए पनि बाहुन गन्हाए पनि बाहुन् भनिन्थ्यो तर के गर्नु त्यही बाहुनलाई कुनचाहिँले हो ठिराउँदो जाडोमा दिनदिनै नुहाउँनुपर्ने र फिलफिलाउँदो धोति लाउँने नियम बनाइदियो । एन्टेना न एरियलका रूपमा टुपी पाल्नुपर्ने भनियो । जागिरमा ठूलो पदभन्दा खरदार, डिठ्ठामै सीमित गरियो । पढ्ने पेशा बाहुनले गर्ने भन्दै बाहुनलाई सुगा बनाएर सुकाइयो । जहाँ गुलियो त्यहाँ बाहुन भुलियो भन्दै ब्राह्मण जातलाई आक्षेप लगाई जातिय द्वन्द्व निम्त्याउँने कोशिस गरियो । मिलेर बसौँ, मिलेर हिँडौँ भन्दा तँ ठूलो जात भन्दै समाजमा अन्य जातिसँग विभेद गराइयो । अरू जातले छोएको पानी पनि खान नहुने भन्दै खाद्य स्वतन्त्रताबाट मुक्त गरियो । परम्परा र धर्मसँस्कृति जोगाउनेभन्दा दुना टपरा सोहोर्ने जातिका रूपमा परिभाषित गरियो ।
ठूलाठूला क्रान्तिहरूमा लाग्ने अन्य जातीलाई तुरून्त मारिदिन्थे । मर्नेका नाम शहीदका कोटीमा सुनौला अक्षरले लेखिन्थे । चारपाटा मुडिएर जीवनभर आफ्ना आफन्त, छिमेकी, समाजको नजरमा गिर्दै पलपल मर्ने जाति बाहुन नै थियो । टंकप्रसाद आचार्यहरू जिउँदो शहीदका एक पात्र हुन् । बाहुनलाई "जातिच्यूत" गराइएको भन्नुको अर्थ नै अन्य जातिलाई सानो र बाहुनलाई ठूलो मानिएको हो । जातिच्यूत गराउने शासक वर्ग कुन जातिका थिए कसैले खोजेनन् । इतिहास हेरौं त ती बाहुन छँदैथिएनन् । अन्य जातिका पो थिए । यसैले जातिगत विभेद तिनैले गरेका हुन् भन्न किन डराउने ? नेपालको राजनीतिलाई उलटपुलट पार्ने हलो क्रान्ति‚ जयतु सँस्कृतम‚ लाइब्रेरी क्रान्ति बाहुनहरुसँग नै सम्बन्धित छन् । तिनलाई चटक्क बिर्सेर सँस्कृत पढेकै भरमा‚ पूजाआजा र श्राद्ध गरेकै कारणले नगरेको अपराध भिराएर बाहुनलाई टपरे बाहुन भन्नेहरुको विद्धता बारे भविष्यले बताउला ।
विगतलाई हेर्नुहोस्‚ बाहुनलाई व्यापारमा निषेध गर्दै धनसम्पत्ति कमाएर सम्पन्न बन्न दिइएन । केवल पढ्ने यन्त्र मात्रै बनाइयो । नपढेकाहरू कुँजिएर बस्नुपर्‍यो । होटलमा मीठो खान नदिएर सामल बोकेर यात्रा गर्नुपर्ने बनाइयो । यसैले मान्नोस् नमान्नोस् 'राष्ट्रिय रोग ग्यास्ट्राइटिस बाहुनबाटै जन्मेको हो' । बाहुन भएकै कारणले जो कसैले हेपिनु र चेपिनु नपरोस् । अरू जातिको उत्थानका नारामा बाहुनहरूले नगरेको अपराधको भार बोक्नु नपरोस् ।
झोला फेरि व्यस्त भयो‚ बोल्यो "श्राद्धमा जानुछ गुरुबा ।"
पण्डित बाजेः "कसको श्राद्ध ?"
झोलाः "श्यामबहादुरको ।"
पण्डितः "त्यो त जिउँदै छ हैन र ? अस्ती चोकमा बाहुनलाई कालोमोसो दलेर देश निकाला गर्नुपर्छ भन्दैथ्यो त ।"
झोलाः "..... आच्या श्यामबहादुरको बाउको पो हो त ।"
पण्डितः "जाउ‚ सबै कर्म पूरा गरेर आउ । ..... सर्वे भवन्तु सुखिनः ।"
पण्डित बिहानी कर्ममा लाग्नुभो । या देवी सर्व भुतेसु तृष्णा रुपिण संस्थिताऽ नमतस्यै नमतस्यै नमतस्यै नमोनमः..... ।
परिवर्तनको बाटोमा सबैलाई स्वागत छ । बाहुनलगायत सबै जातिको जय होस् ।
२०७४ श्रावण
हालः सिद्धार्थ माध्यमिक विद्यालय‚ हेटौंडा
२०७४ श्रावण २१ गते शनिबार समृद्ध समाज दैनिक‚ हेटौैडामा प्रकाशन भएको

Tuesday, July 25, 2017

प्यारो राष्ट्रियता


जहाँ दिनमा एक छाक खानसम्म नपाएर
भोकभोकै बाँचिरहेका (?) हरु अनगिन्ति छन्,
जहाँ खलोको धान ढिकीमा कुटेर अनी
उब्रेको खाना बटुलेर खानेहरुको अनगिन्ति छन्,
जहाँ जानेर नजानेर भिटामिन ए पाइने
सिस्नोले बाध्यताको तिहुन् टार्नु परेको छ,
जहाँ अत्यधिक उत्पादन हुने हाइब्रिड बिउ किन्दै रोपेर
महंगो मल र खडेरीको मारमा अल्प उब्जाउ हुन्छ,
त्यस्तो देशका किसान हामी
जौ उब्जाएर पूजामा खर्चिरहेछौं,
कोदो उब्जाएर जाँड बनाइरहेछौं,
भात खाने चामलको औसानी र
पुरेतलाई दानदेखि अक्षेतासम्म अनि
झाँँक्रीले मन्छाउनेसम्म
चामलको छ्याङ् खाएर भातै खान बिर्सेकाहरु
स्याउको खार्पाली रक्सी बनाएर छाक टारिरहेछौं ।

गुड फ्राइडेमा मातिनेहरुको केको नैतिकता ?
ह्याप्पी होलिडेमा झुम्नेहरुको केको पवित्रता ?
मित्रकी पत्नीसंग पेग लिँदै अश्लिल नाच्नेहरुको कस्तो मित्रता ?
स्वदेशी स्वादमा डुङ्ग गन्हाए पनि
तिमीलाई तिम्रै जस्तै,
हामीलाई नि हाम्रै राष्ट्र र राष्ट्रियता प्यारो छ ।

डाक्टर सपना


हेर्दै जा बाटुली,
तेरो छोरालाई डाक्टर बनाउँछु म ।

ढाक्रेको छोरो ढाक्रे नै होला भन्ने तेरो डर,
गोफ्लेलाई ठूलै बनाउँछु भन्ने मेरो रहर,
गोफ्ले तँ राम्ररी पढ,
सरले जे भन्छ त्यही गर्,
होमकको जोहो तँ गर,
नमकको जोहो म गर्छु,
सुन् बाटुली झगडा नगर,
नाम्लो बोक्दै धाएर अर्काका जडौरी लाएर
तेरो छोरालाई डाक्टर बनाउँछु म ।

दिनको पचास भारी बोक्नुछ,
दश रुपियाँको दरले पाँच सय कमाउनु छ,
साहुको भाँडा माझेर र कपडा धोएर
तेरो खाना जोगाइस् मात्र भने पनि
बाउ छोरा खोले खाएर पनि
हेर बाटुली तेरो छोरालाई डाक्टर बनाउँछु म ।

अरुको कुरा सुन्दै नसुन्,
बनावटी कुरा गुन्दै नगुन्,
धनीले मात्र पढ्छन भनी
मनमा कुरा बुन्दै नबुन्,
रक्सी चुरोट छोडौं,
एकबारको जिन्दगीमा अघी बढौं,
तैंले पढाइमा मात्र ध्यान दे छोरा,
रुखो पिठो जे खाएनि
तँ हुन्छ मात्रै भन्दे बाटुली,
हेर बाटुली तेरो छोरालाई डाक्टर बनाउँछु म ।
मिति २०६९ असार २७ गते
पुनरावेदन अदालत‚ हेटौंडा

नयाँ पुस्ता (New Generation)

----------------------------
संप्रस पौडेल
----------------------------
सुरिलो स्वर लुकाई डेड मेटल गाउँने भयौ ।
बाउ-आमा सक्षमै थिए च्यातेको लाउँने भयौ ।।


आधा आँखा छोपी कपालले गराउने अरे जलन ।
महंगो मोबाइल पछाडी भिरेर फुटाउने कस्तो चलन ?


चाउचाउ सँस्कृतिमा हुर्केर, चिकेन चिल्ली मात्रै रुच्ने ।
बिरामी भए त उपचारै गरुँला, गए ज्यान कहाँ खोज्ने ?

झर्झराउँदो पालुवा पलाउने बेला, ओइलायौ कि झैं लाग्दछ ।
कलियुगमा केटाकेटी हरे, बहुलायौ कि झै लाग्दछ ।।

मादल बेच्यौ अरे, खैजडी भजनमा लाज भो भन्छन् ।
इज्जत हुर्मतको 'बाल मतलब' रे पैसा मात्रै पो गन्छन् ।

सुरिलो स्वर लुकाई डेड मेटल गाउँने भयौ ।
बाउ-आमा सक्षमै थिए च्यातेको लाउँने भयौ ।।

मन्त्रिज्यूका पाँच कामः गरीब हटाउने अभियान



संप्रस पौडेल 'दिवस'
---------------------------
मन्त्री हुनु त यस्तो
जुन काम पनि आफैंबाट शुरु गर्ने ।

कुरा जे गरे पनि बेकार भन्ने
कुरा जति गरे पनि धिक्कार भन्ने
यस्ता होनहार विचारका धनी माननीय
भाषणताषण गर्ने समय होइन यो भन्दै जाग्याछन्‚
आफैंबाट परिवर्तन गरेरै देखाउँछु भनेर लाग्याछन् ।

पहिलो काम गरीबी घटाउनु अरे
देशमा गरीबी घटाउनका लागि‚
आफैंबाट शुरु गरे‚
तीन तीन बंगला बनाए‚ 
छोराछोरी र सालासालीलाई
एकौटा गाडी किनिदिए
धर्मपत्नीलाई मितव्ययी बन्दै कनिकुथी
दुई सय थान साडी किनिदिए ।

दोश्रो काम; बाटाघाटा खाल्डाखुल्डी देखेर
पर्खालभित्र एउटा पौडी पोखरीको खाल्डो खनाएछन्
मर्निङ वाकका लागि जम्मा दुई करोड खर्चेर 
सानो खेल मैदान पनि बनाएछन् ।

तेश्रो काम; खुल‍ा दिसामुक्त क्षेत्र भन्थे
झण्डै आधा करोड खर्चेर शौचालय बनाए
नयाँ शौचालयको उद्घाटन 
प्रधानमन्त्रीबाट गराउने अरे
योजना‚ निर्माण र कार्यक्रमको खर्च
शहरी विकास मन्त्रालयबाट भराउने अरे ।

चौथो काम दाइजोनिषेधित क्षेत्र भन्थे
दाइजो लिनेदिनेलाई कारबाही गर्छु भन्नेले
आफ्नो स्रोतमा दाइजोबापतको सुनचाँदी 
हिरा र बैंक ब्यालेन्स लेखाए
पैतृक तीन कठ्ठा र दाइजोको तीस बिगाहा देखाए ।

पाँचौं काम; कर्मयोगीलाई करछुट भन्दै
आफ्ना आफन्तका उद्योगधन्दाहरुलाई
व्यापक करछुट गराए
आफूले जस्तै अरु मन्त्रीले पनि
गरीबी निवारणमा लाग्नुपर्छ भन्दै कराए ।

मन्त्री हुनु त यस्तो
जुन काम पनि आफैंबाट शुरु गर्ने
हिजै मात्र भन्थेः
"मन्त्री परिषदको बैठकमा मन्त्रीहरुलाई 
जाबो गरीबी हटाउँन नसक्ने भन्दै हकारेँ
आए जति  लतार्नोस्‚ भन्दै एक ढ्याउ डकारेँ ।"

हतार भैसक्यो अरे‚
लौ न गरीबी आजैबाट निर्मूल गर्नुछ‚
जेहोस् गरीबी आफैंबाट निर्मूल गर्नुछ ।
--------------------------------------------
२०७४ श्रावण १०‚ हेटौंडा

Tuesday, May 30, 2017

तिम्रो इङ्लिश र मेरो अंग्रेजी

तिम्रो इङ्लिश र मेरो अंग्रेजीः (part-5)
* UNICEF लाई युनिसेफ भन्न हुने भए WHO लाई 'हु' किन भन्न नहुने ?
* शिक्षकले school भनेर सिकाए व्यापारीले skul भन्दैछन् ।
* वाच सेन्टरलाई व्यापारीले 'वाँच सेन्टर' बनाइदिए ।
* डाम्नालाई damn भन्यौ ।
* एजुकेसनलाई एडुकेसन भन्यौ ।
* गाली गर्दा डुडेँ नभन्नु भन्दै ड्यूड (dude) भन्न सिकायौ।
* फाइनान्सलाई फिनान्स भन्न सिकायौ ।
* फिनेललाई फिनाइल भन्नु पर्छ भन्यौ ।
* देश र ट्वाइलेटको नाम ल्याटिन कसरी भयो ?
* a लाई अ भन्ने कि ए ?
* जक्सन, ज्याक्सन, जैक्सनमा के भिन्नता ?
* अड्कलाइजेशन, अन्दाजीफिकेसन, नेपालोप्याथी, सोमरसोथेरापी, मोज योरसेल्फ नेपाङ्ग्रेजी शब्द खुबै चलेका छन् । यो पनि तिम्रो कमाल हो कि ? 
अली अली जानेको मेरो अंग्रेजी सखाप बनाएर सिध्यायौ इङ्लिशवाला हो ।

Sunday, December 4, 2016

चुनाउको डाम

“दशैंले डामेको एक महिना नबित्दै तिहारको अगुल्टो थाप्नुपर्‍यो, छोरीको बे पनि यै बेला । खर्च त भो भो भाउ बढाउनेकै लागि चुनाउको चाड पनि आउँदैछ रे” भन्दै कर्किनी बज्यै कर्किइन् । महंगीले “बज्यै” भनी बोलाउला भनी त्यसै त्यसै झर्किइन् । सरकारी राहतको समाचार र व्यापारीको आहतको अत्याचारले अचारभन्दा अमिलो मन पारी थैली फुकाउन लागेकी कर्किनी बज्यैलाई दशैंतिहारको ऋणको व्याज तिर्न पो ज्यादा चिन्ता थियो । तिहारमा मरमसालाको जोहो, माइतसम्म जान लाग्ने भाडा र फर्किँदा दाजुभाइको दक्षिणामा थप्नुपर्ने पैसाको जोहो गर्न पनि उनलाई हम्मे हम्मे भयो रे । “हाम्रा बाजे गरिब भए पैसैविनाले” भन्दै आहान सुनाउने उनी जस्ता मेरा गावैभरी तितरवितर भई रन्थनिएका छन् । “एउटाले ऋण खोजेर धेरै व्याज खाने आशले आसामी लगाएको लगानी नउठेपछि मेटासिट किन्न गएको उतै बेपत्ता भयो” भन्दै ‘एफएम टावर’ उपनाम राखिएकी सुबेदार्नी बज्यैबाट पधेँरामा समाचार वाचन भैरहेको थियो । उता आलु बेचेर आँगन ढलान गरेका आलु साह, अदुवा बेचेर कुखुरा पालन गरेका कुखुरा अधिकारीदेखि बोर्डिङ्ग खोलेर स्वाहा भएका प्रा.लि. बिडारीसम्मलाई चाडबाडको महंगीले चुर्लुम्म डुबाएको थियो । नाम मात्रका पाँडे काजीदेखि ट्विँके दर्जीसम्म र गाउँले हतियारका डिजाइनर बिश्वकर्मा काकादेखि मागेरै ठुटे चुरोटले जिन्दगी गुजार्ने हुक्के हजुर्बासम्मलाई चाडबाडको महंगीको लंगौटी बिक्ने भए बेचुँ कि राखुँ भएको थियो । सानातिना ज्ञान लिन बुद्ध जस्तो रुखमुनी बास र योगी जस्तो भिखको आश गर्नु पर्दैन भन्ने भनाई मेरा गाउँलेहरुबाटै सिक्न सकिन्छ ।

बिगतको चुनाउँलाई बिर्सँदै दैलाको ठेलामा घामको झूल्को नपुग्दै मेला जानुपर्ने हुँदा राजनीतिक गफमा कसैलाई चासो हुन छोडेको थियो । खेताला जाँदा बचाएको दुई मुठी भटमासले बेलुकाको तरकारीको गर्जो टार्नुपर्ने हुनाले देशको तिर्तियांश वा पूर्ण बजेटको कसैलाई हेक्कै थिएन । कुखुरा बासेपछि उज्यालो हुने र झ्याउँकिरी गुञ्जिएपछि साँझ पर्ने कुरो बाहेक पृथ्वी घुमेर दिनरात हुने गरेको कुरो कसैलाई सुनाउँनै हुन्थेन । नेताहरु गाउँ पसेपछि चुनाउको नाटक मञ्चन हुन लागेछ भनी चउर र दोबाटो, चौबाटोहरुमा गाउँलेहरु थुप्रिन्थे । भाषणै सुन्न त किन जान्थे र ? बरु आपूmले टेलिभिजनमा देखेका अनुहार साँच्चै चैं कस्ता हुने रहेछन् भनी हेर्न र भरे टेलिभिजनमा भिडिओ आउला कि भनी नेताको वरिपरि झुम्मिन्थे । नेताहरु पनि चिनेझैं घरघरमा नमस्कारको काउसो बोकेर आउँथे । तैपनि मेरा सोझा गाउँलेहरु साँढे पालेर दुध खोजे जस्तो भोट हालेर विकास खोज्दथे ।
टेलिभिजन हेर्दा दुई चार थान नयाँ कम्युनिष्ट नेताहरुले दशैंमा टिका नलगाएकामा पण्डित काका रिसले रन्थनिएका थिए । ब्लड प्रेसर हुनेले आवेशमा आउनु हुन्न भनी डाक्टरले भनेका भनाईमा काका ओठ लेप्य्राउँदै टाउको हल्लाउँथे । बगरेले मासु खुर्किएर हड्डी मात्रै बाँकी राखे जस्तो नेपालका डाक्टरले बगली र सम्पत्ति खुर्किएर गरिब हुन पुगेकाले गाउलेहरु बाध्यताले आज पनि धामीझाँक्रीलाई सस्ता र सुलभ डाक्टर मानिरहेका छन् ।
देउसी भैलीलाई दियोमा बत्ति बालेर नाङ्लामा धान चामल, टपरीमा सेल रोटी सजिएका दिनहरु नेताका तालु जस्तै खुइलिसकेछन् । देउसी भैली आउनु एक हप्तापूर्व नै हजार हजारको लमतन्ने बाह्रहाते चिठी र भाग्यमानीलाई कहिल्यै नपर्ने भाग्योदय चिठ्ठाहरुले गाउँ तिहार अघि नै कंगाल बनाउन थालेको रहेछ । सरकार पनि कंगालको कंकाल सर्लाकी भनी अंगाल्न डराउँदो रहेछ भन्ने कुरा थाहा नपाएर पनि भावी पिँढीले भोट हाल्न सिकुन् भन्दै गाउँलेहरु भोट हाल्दाहाल्दै मर्दा रहेछन् ।
दशैं तिहारमा जुवा तासले गाँस न बास भएका र साहुको ऋणले उठिबास भएकाहरु धेरै भएपछि सरकारका गरिबी परिचयपत्र मेरै गाउँमा एक खाङ्ग्रे बाँड्नुपर्ला कि भन्ने लागेको छ । प्रजातन्त्रले तन्त्रेको, बहुदलले बहुलाएको, लोकतन्त्रले लुछेको र गणतन्त्रले गुण्डागर्दी बढाएको वास्तविकता बताउँदा गाउँलेहरु चुनाउमा उठ्नोस् भोट तपाइलाई दिम्छम् भन्न थालेका छन् । “उठ बाओ उठ, गाउँलेहरुलाई नेतालाई भोट हालेदेखिम् एक से आठ गाई दान गरे सरह धर्म हुन्छ भन्नुपर्छ अझै भोट हाल्चन् बाओ“ भन्दै जुठे काका कोरा सर्टिफिकेटी बेरोजगार म आफैंलाई चुनाउमा उठ्नलाई कर गर्दै लेघ्रो तान्दैछन् । संविधान सभाको भोट हालेर राजनीतिको जुठो लाइयो, खै चुनाउमा उठ्न्या हुन् कि राजनीतिबाटै चुठ्न्याहुम् ? बिलखबन्दमा छुु । हारेर पनि पद पाइयो भने त ठीकै भो नत्र न चुनाउको चौपाटे मुण्डन र पञ्चखत डाम देखाएर गाउँशहर गर्नु पर्न्या बेलाँ केरी मुख देखार हिँड्नु खै ! अस्तु । 
www.facebook.com/sampraspaudel

Thursday, July 28, 2016

समसामयिक (2016 July)

1. प्रधानमन्त्री के.पी. शर्मा ओलीको सरकार प्रजातन्त्र पुनर्स्थापनापछिको कतिऔं सरकार हो ? २२औं
2. दार्जिलिङमा भानु जयन्ति समारोहमा कहिले भारतका राष्ट्रपतिले उपस्थिति जनाएका हुन् ? २०७३ असार २९ औ २०३औं जन्मजयन्ति (स्मरण रहोस्ः सिक्किम, दार्जिलिङ, असम लगायत क्षेत्रमा भानु जयन्तिका दिनमा सार्वजनिक विदा दिइन्छ)
3.सन् २०१६ को युरो कपमा कुन देशले विजय प्राप्त गर्‍यो ? पोर्चुगल (1-0 गोल अन्तर)

समसामयिक (2016 July)

युरोकप २०१६ बारे समसामयिक सामान्यज्ञान प्रश्नोत्तरः

* विजेताः पोर्चुगल
* उपविजेताः फ्रान्स
* आयोजक राष्ट्रः फ्रान्स
* फाइनलमा गोल अन्तरः १-०
* सर्बाधिक गोल (गोल्डेन बुटको उपाधि): एन्टोइन ग्रिजम्यान
>>अंकसम्बन्धी विविध (स्रोतः अनलाइन खबर)
* ० – युरो २०१६ को पोर्चुगल र फ्रान्सबीचको फाइनल खेल युरोको इतिहासमा एकमात्र फाइनल हो जसमा निर्धारित ९० मिनेटको समयमा कुनै गोल भएन ।
* ४ – वेल्सका आरोन राम्से र बेल्जियमका इडेन हाजार्ड युरो २०१६ मा गोलका लागि सबैभन्दा धेरै पास उपलब्ध गराउने खेलाडी हुन् । उनीहरु दुवैले ४/४ एसिष्ट गरेका थिए ।
* ६ – एन्टोइन गि्रजम्यानले यस युरोमा समग्रमा ६ गोल गरे । उनले प्रतियोगितामा सर्बाधिक गोल गर्दै गोल्डेन बुटमात्र पाएनन् सन् १९८४ को संस्करणपछि एकै प्रतियोगितामा सबैभन्दा धेरै गोल गर्ने खेलाडीसमेत बने ।
* ९ – क्रिष्टियानो रोनाल्डोले वेल्सबिरुद्धको गोलसँगै युरोपियन च्याम्पियनसीपमा धेरै ९ गोल गर्ने फ्रान्सका मिचेल प्लाटिनीको कीर्तिमान बराबरी गरे । साथै उनी पोर्चुगिज जर्सीमा छुट्टाछुट्टै चार प्रतियोगितामा गोल गर्ने एक्ला खेलाडीसमेत बने ।
* १८ बर्ष ३२८ दिन – पोर्चुगिज युवा मिडफिल्डर रेनाटो सान्चेस युरोकप खेल्ने अहिलेसम्मकै कान्छा खेलाडी बने । उनले टिममेट क्रिष्टियानो रोनाल्डोको कीर्तिमान भंग गरेका हुन् । रोनाल्डोले २००४ को युरोमा १९ बर्ष १५० दिनको उमेरमा युरोमा डेब्यू गरेका थिए ।
* २१ – पुनः रोनाल्डो नै । उनले सन् २००४ यता अहिलेसम्म युरो अन्तर्गतका खेलमा २१ क्याप जिते । त्यो आफैमा कीर्तिमान हो ।
* २७ – आइसल्याण्डका गोलकिपर हान्नेस् हाल्डोरसनले प्रतियोगिताका पाँच खेलमा विपक्षीका २७ प्रहार बचाउ गरे । यो प्रति म्याच ५ बचाउभन्दा धेरै हो ।
* ३२.८ – सबैभन्दा द्रुत खेलाडीको रुपमा यस युरोमा फ्रेन्च स्ट्राइकर किंगस्ले कोमान चम्किए । उनले ३२.८ किलोमिटर प्रतिघण्टाको गतिमा दौडेको रेकर्ड भएको छ । बेल्जियमका लाइभवाइर यान्नीक कारास्कोपनि ३२.३ किलोमिटर प्रतिघण्टामा दौडेका थिए ।
* ४० बर्ष ८६ दिन – ग्याबोर किर्ले हंगेरीका गोलरक्षक हुन् । चालीस बर्षभन्दा बढि उमेरका उनी युरोकपमा अहिलेसम्मकै सबैभन्दा पाका खेलाडीको रुपमा कीर्तिमान राख्न सफल भए । पाइजामा म्यानको नामबाट चर्चित उनी प्रिक्वाटरफाइनलमा बेल्जियमसँग पराजित हुँदापनि उत्कृष्ट लयमा थिए ।
* ४१ – पोर्चुगलले ठूला प्रतियोगितामा फ्रान्सलाई हराएको यो ४१ बर्षपछि पहिलो पटक हो ।
* ५६ – फ्रान्सले घरैमा भएको ठूला प्रतियोगिता अन्तर्गतको खेलमा पराजय ब्यहोरेको यो ५६ बर्षपछि पहिलो पटक हो । यसअघि सन् १९६० को युरोमा घरेलु टोली फ्रान्सले चेकोस्लोभाकियासँग २-० ले हारेको थियो ।
* ६६.६७ – यस युरोको नियमित समयमा पाएको पेनाल्टी अवसरमा दुई तिहाईमात्र गोलमा परिणत भयो । रोनाल्डो, सर्जियो रामोस, अजेक्जेदार ड्रागोभिक र मेसुट ओजिलको पेनाल्टी गोल हुन सकेको थिएन ।
* १०० – पोल्याण्डका रोवर्ट लेवाण्डोस्कीले खेल सुरु भएको केवल १०० सेकेण्डमै पोर्चुगलबिरुद्धको क्वाटरफाइनलमा गोल गरेका थिए । यो युरो इतिहासकै दोस्रो द्रुत गोल थियो । यसअघि सन् २००४ को युरोमा रुसका दिमित्री किरिचेन्कोले ग्रीसबिरुद्ध ६७ सेकेण्डमा गोल गरेका थिए ।
* १०८ – यस युरोमा भएका जम्मा गोलको सङ्ख्या १०८ हो । ५१ खेलमा २.१२ प्रतिखेलका दरले औषतमा प्रति ४४ मिनेट गोल भएको छ । यो आंकडा यसअघिको युरोको भन्दा थोरै हो । २०१२ मा २.४५ को औषतमा गोल भएको थियो ।
* ६०० – नानीले समूह चरणको पहिलो खेलमा आइसल्याण्डबिरुद्ध गरेको गोलले भलै पोर्चुगलले जित हात पार्न सकेन । तर त्यो गोल युरो इतिहासको ६ सयौं गोल थियो ।
* २४ लाख २७ हजार ३०३ – यो आंकडा युरो २०१६ को अवधिमा रंगशालामै पुगेर खेल हेर्ने समर्थकको हो । औषतमा प्रति खेल ४७ हजार ५९४ जनाका दरले समर्थ रंगशाला पुगेका थिए । यो आंकडा सन् १९८८ को युरोपछि सबैभन्दा धेरै हो । जतिबेला ८ टोलीको मात्र सहभागिता रहन्थ्यो ।

समसामयिक (2016 July)

* नेपाली फुटबल टोलीका स्टार स्ट्राइकर नवयुग श्रेष्ठ (१२औं सागमा उत्कृष्ट प्रदर्शन) र क्रिकेट टोलीका स्टार सन्दीप लामिछाने (अण्डर नाईन्टिन विश्वकप क्रिकेट तथा विश्व क्रिकेट लिग च्याम्पियनसीपमा नामिबियाबिरुद्ध उत्कृष्ट प्रदर्शन) राष्ट्रिय खेलकुद प्रतिभा पुरस्कारबाट सम्मानित हुने भएका छन् ।
* उनीहरुसँगै १२औं साथमा उसुबाट स्वर्ण लिदाएकी निमाघर्तीमगर, जुडोकी फुपुहृलामु खत्रीपनि यस पुरस्कारबाट सम्मानित हुनेछिन् ।
* पौडीकी गौरिका सिंह, एथ्लेटिक्सकी विपना परियार, तेक्वान्दोकी निशा रावल, पारा एथ्लेटिक्सका प्रशिक्षक कुमार पौडेल , कबकड्डी तथा खोखोका प्रशिक्षक रामनारायण रोय र नेपाल ट्रायथलन संघलाई पनि उनीहरुले गत बर्ष गरेको प्रदर्शन र सक्रियताको आधारमा राष्ट्रिय खेलकुद प्रतिभा पुरस्कार प्रदान गरिनेछ ।
स्रोतः अनलाइन खबर

समसामयिक विविध (2016 July 15)


• 2016 July 15: World Youth Skills Day
नाराः "Skills Development to Improve Youth Employment"
• 2016 July 14: मातृ तथा शिशु टिटानस मुक्त घोषित पछिल्लो देशः भारत (विश्व स्वास्थ्य संगठनले घोषणा गरेको)
• 2073 Ashadh 31 : गोरखापत्र संस्थानको अध्यक्षमा पत्रकार गोविन्द पोखरेल नियुक्त
• 2073 Ashadh 31: आदित्य प्रतिष्ठानलाई १ करोड दिने मन्त्रिपरिषदको निर्णय
• 2073 Ashadh 31: ऋण असुली न्यायाधीकरण सदस्यमा मानबहादुर अर्याल नियुक्त
• 2072 Ashadh 30 : राष्ट्र बैंकद्वारा आ.व. २०७३/७४ का लागि मौद्रिक नीति सार्वजनिक
• 2073 Ashadh 27 : सर्वोच्च अदालतको पहिलो महिला प्रधानन्यायाधीश सुशीला कार्कीले सोमबारबाट औपचारिकरुपमा कार्यभार सम्हालेकी छन् । प्रधानन्यायाधीशका रुपमा उनले राष्ट्रपति विद्यादेवी भण्डारीबाट शपथ ग्रहण गरिन्
• 2016 July 5 : अन्तर्राष्ट्रिय अदालतद्वारा दक्षिण चाइना सागर चीनको अधिकार नभएको पुष्टी
• 2073 Ashadh 27/2016 July 11 : भारतको नयाँ दिल्ली र नेपालको पर्यटकीयनगरी पोखराकाबीच सिधा बस सेवाको सोमबारदेखि औपचारिकरूपमा शुभारम्भ
• 2016 July 15 : फ्रान्समा लरी (ट्रक) आक्रमण, ८४ भन्दा बढीको मृत्यु
• 2073 Ashadh 29 : माओवादी केन्द्रद्वारा सरकारलाई दिएको समर्थन फिर्ता
• 2016 July 14 : फिफा बरियताक्रममा नेपाल १८८औं स्थानमा (यसअघि १८२औं)
• 2073 Ashadh 17 : भावना घिमिरेले नेपाल क्रिकेट संघ (क्यान) को प्रमुख कार्यकारी अधिकृत पदबाट राजीनामा (२१ महिना अवधि)
• 2016 June 27: अर्जेन्टिनाका क्याप्टेन तथा स्टार खेलाडी मेसीले कोपा अमेरिकामा महत्वपूर्ण पेनाल्टीमा गोल गर्न चुके सँगै अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा
• सरोगेसीः (कोख भाडामा दिएर अर्कैको लागि बच्चा जन्माइदिने काम)
• सरोगेसी प्रतिबन्ध भएका देशहरुः भारत (सन् २०१५ फेब्रुअरी), थाइल्यान्ड (सन् २०१५ ), अमेरिकाका अधिकांश राज्य, क्यानडा, अस्ट्रेलिया, जापान, बेलायत, नेपाल आदि ।
• 2072 Ashadh 6/2016 Jun 20: अफगानिस्तानको राजधानी काबुलमा आत्मघाति आक्रमणमा परी १३ नेपालीको हत्या
• स्पेनी ला लिगा अध्यक्षः ज्याभिएर टेबास हुन् ।
• "2016 Hero Acting To End Modern Slavery Award" घोषित प्रहरी उपरीक्षकः किरण बज्रचार्य
• फोर्ब्स म्यागजिनद्वारा प्रकाशित प्रतिवेदनअनुसार सन् २०१६ को सर्वाधिक कमाई गर्ने सेलिब्रेटीः टेलर स्वीफ्ट (लियोनल मेसीः आठौं नम्बर, शाहरुख खानः ८६औं नम्बरमा अंकित)
शाखा अधिकृत, नायब सुब्बा, खरिदार लगायतका विभिन्न कक्षाका तयारीका लागि सम्झनुहोस् ।
संकलनः सुशान्त शैक्षिक केन्द्र, हेटौंडा-२
(फोनः 057-522144/9745002380)
कृपया कपी गर्नु परेमा स्रोत उल्लेख गर्नुहोला ।

केही भिटामिन र त्यसलाई चिनिने नामः

• रेटीनोल : Vitamin - A
• थायमिन : Vitamin - B 1
• पेन्टोथोनिक अम्ल : Vitamin - B 3
• रायबोक्लोवीन :Vitamin -B 2
• पायरीडक्सीन :Vitamin - B 6
• नियासिन : Vitamin - B 5
• बायोटीन : Vitamin - B 7
• सायनो कोबालेसीन :Vitamin - B 12
• एस्कर्बिक अम्ल :Vitamin - C
• क्याल्सीफेरोल :Vitamin - D
• बायोटीन :Vitamin - H
• टोकोफेरल :Vitamin - E
• फिलिक्वोनोन :Vitamin - K

विश्वको भूगोल/नाइल नदी

सामान्य ज्ञान (General Knowledge) :
विश्वको भूगोल (Geography of World)
नाइल नदीः
* विश्वको सबैभन्दा लामो नदी हो।
* उत्तरी अफ्रिकाको उत्तरतिर बग्ने
* लम्बाईः ६६९० किलोमिटर (४१३२ माइल)
* मुहानः भिक्टोरिया तालबाट
* अन्त्य विन्दुः भूमध्यसागर
* नाइल नदीको बरदानः इजिप्ट
* नाइल नदीको किनारमा पाइने फूलः निलो कमलको वैज्ञानिक नाम Nymphaea caerulea
* प्रख्यातीः
- हजारौं ठूला आकारका गोहीहरुको लागि प्रसिद्ध
- पर्यटकीय दृष्टले मनमोहक
- नाइल उपत्यकाको जीविकोपार्जनको मूख्य केन्द्र
- कृषिबालीका लागि सिँचाईको सुविधा
- ऐतिहासिक अध्ययनको केन्द्र

Wednesday, July 27, 2016

गरिखानेको होइन, मरिजानेको देश

डाक्टर गोविन्द केसीका मागलाई राजनीतिक बनाइएको सम्बन्धमा उठेका विविध प्रसंगबारे समृद्ध समाज दैनिकमा प्रकाशित आफ्नै लेखः
– संप्रस पौडेल
२०७३ श्रावण ६
नेपालमा एउटा उखान खुबै चल्तीको छ, "कानुनका नौ सिङ हुन्छन् ।" जन्माउँदा नै नौ सिङे बनाइन्छन् कानूनहरु । यसैले पनि "नेपालको कानून जसले बनायो उसैले जानून्" भनिन्छ ।
प्रसंग स्वास्थ्य क्षेत्रको हो, के यो देशमा करोडौं घुस खाने छैनन् । सँधै केही हजार र लाख घुस खाएको आरोपमा खरिदार र सुब्बा मात्रै अख्तियारले समातिनुपर्छ भन्ने छ ? अख्तियारद्वारा चिठी काटेपछि मिडियाबाजी गराएर उन्मुक्ति पाउँने माधव नेपाल, प्रचण्ड, केपि शर्मा वली, देउवाहरु कुन ग्रहका प्राणी हुन् ?
 रकम खाने मात्र होइन, परिवर्तनका नाममा पद, कुर्सी र सत्ता मात्रै ताकेर देशलाई दशकौं पछाडि पनि त अनैतिक कार्य नै होला नि ! सोझालाई शुली र चोरलाई चौतारोमा सम्मान गर्ने राजनीतिज्ञ भएसम्म यो देशका शासकलाई सतिले मात्र होइनन्, नन्दप्रसादहरुले पनि सरापिरहन्छन् । गोविन्द केसी त पछिल्ला एक पात्र मात्रै हुन् । राजनीतिलाई सार्वजनिक र निशुल्क सेवा भन्ने बिर्सेर मागी खाने भाँडो ठानेसम्म सतिको देशमा कसैको मति सुध्रने होइन ।

तिम्ले मिस कल गर्दा, भक्कानो सङ्गालिएको खाङ्ग्रे

  तिम्ले मिस कल गर्दा , भक्कानो सङ्गालिएको खाङ्ग्रे यो गीतलाई केवल प्रेमगीतका रूपमा हेर्नु पर्याप्त हुँदैन। श्रवण मुकारुङले यहाँ नेपाली स...