Friday, March 27, 2020

श्री श्री श्री ४२० तस्वीरानन्द स्वामीसँग फेसबुक तस्वीर बारे वार्तालाप

यहाँ पोस्ट भ‌एको तस्वीरका बारेमा गरिएको वार्तालाप:
प्रश्न: माथिको तस्वीर बारे फेसबुक तपाईँ झैँ ४२० फेसबुक महात्माहरू के भन्छन् ?
उत्तर: महात्माहरु भन्छन् यस तस्वीरको प्रवेश प्राचीन कालमा हुनुपर्थ्यो । राम र रावण फेसबुक चलाउँथे भने युध्द नै हुँदैनथ्यो । कौरव र पाण्डव भाइबर, ट्वीटर, ह्वाट्स एपमा झगडा गर्थे ।
प्रश्न: यस तस्वीरमा अनुहारको रापले के कस्तो क्षमता राख्दछ ?
उत्तर: महाभारत र रामायण जस्ता ठूला ठूला युध्द रोक्ने क्षमता यो 'धपक्क बलीरहेको' अनुहारमा छ । 
प्रश्न: तस्वीरमा झलझल बलिरहेको के हो ?
उत्तर: तपाईंको झलझल बलिरहेको यो तस्वीर आशाको किरण हो । जो अघिल्लो भ्यालेन्टाइनमा उषाकी किरण, त्यो भन्दा अघि निराशा किरण थियो ।
प्रश्न: सगरमाथा पनि चढ्नुहुन्छ अरे तस्विर  लिएर । 
उत्तर: आली कान्ला चढ्न गाह्रो उमेरमा त्यसैलाई सगरमाथा मान्दै चढ्दछु । यस पृथ्वी लोकमा बसोबास गर्ने मनुस्य जात नै फेसबुकमा फसेर मैँ जस्तै बनेका छन् ।
प्रश्न: आकाश‌ खुल्ला छ ?
उत्तर: मानवका लागि आकाश त धर्ती सबै बन्द छ ।
प्रश्न: आकाशमा बहने के हो ? 
उत्तर: लाग्छ कि यो खुला आकाशको पवनमा तपाईंको यही तस्वीर बहिरहेको छ ।
प्रश्न: यो तस्वीर देखेर कस्ता परिवर्तन हुन्छन् ?
उत्तर: तपाईंको यही तस्वीर देखेर चराहरु चिर्बिराउन थालिसके, पहिले गर्जन्थे । कविहरू कविता रच्न थालिसके, पहिले नाच्थे । गोपिनीहरू कृष्णजीलाई त्यागेर तपाईंको यादमा तड्पिन थालिसके, पहिले पानीले तड्पिन्थे । पुरै ब्रमान्ड खल्बलाएको तपाईंको यस तस्वीरलाई चुनौती दिन सक्ने अर्को तस्वीर समयको अन्त्य हुनु अगाडि आउला भनेर मानव जातीकै लागि ठुलो प्रश्न भएर अडिएको छ । 
प्रश्न: तस्वीर लाइक बारे केही भन्नु छ ?
उत्तर: एकभन्दा बढी लाइक गर्न पाइन्न रहेछ नत्र सारा जीवन यही फोटोमा लाइक गरेर बिताउने थिएँ । 
प्रश्न: सम्बन्ध बिच्छेद होला नि ?
उत्तर: हुँदैन, आजकल उनी पनि यस्तैमा व्यस्त छन् ।
प्रश्न: घरमा बुढा/बुढीको तस्वीर लाइक गर्नुभयो त ?
उत्तर: काठमाडौंको लोडसेडिङ तिनैले गर्दा भ‌एको थियो ।
प्रश्न: भागवत गीताले संसारको लोडसेडिङ हटाउँछ भन्छन् त ?
उत्तर: बिश्व कै अन्धकार हटाउन सक्ने क्षमता देख्छन् खासाका सामसन बनाउँने वैज्ञानिकहरू तपाइको यो तस्वीरमा । 
विज्ञानमा मात्र हैन धर्म क्षेत्रमा पनि प्रभाव पार्न पुगेको छ तपाईँको यो तस्वीरले । 
प्रश्न: यो तस्वीरको बारेमा अरू केही भन्नु छ श्री श्री श्री ४२० तस्वीरानन्द स्वामीजी महाराजज्यू?
उत्तर: कति राम्रो फोटो यताबाट हेर्दा नि राम्रो,
उताबाट हेर्दा नि राम्रो, उठेर हेर्दा नि राम्रो, उफ्रेर हेर्दा नि राम्रो! सुतेर हेर्दा नि राम्रो, बसेर हेर्दा नि राम्रो, सिधा परेर हेर्दा नि राम्रो, बाङ्गो पारेर हेर्दा नि राम्रो । 
प्रश्न: अन्त्यमा ?
उत्तर: बुढा/बुढीले अर्काको तस्वीर बारेको व्याख्या पढेर ढाडमा कुचो बर्साए पनि यो तस्वीर झलझली बलिरहने, पहाडेको टोपी र मधेशीको धोति जस्तो, बाजेको शैली र बज्यैको थैली जस्तो प्यार भरिएको छ । अर्थ न बर्थका व्याख्या गर्न लगाउँने तिमीलाई लाजको पसारो ।
अन्त्यमा,
खासै धेरै बयान त गर्नै सक्दिनँ म, अरूलाई बयान गर्न लाउनुस् न है ।

No comments:

Post a Comment

तपाईँलाई यो सामग्री कस्तो लाग्यो ? कृपया कमेन्ट गर्नुहोस् ।

च्वास्स २