Monday, April 29, 2013

व्यंग्य खित्का : पच्चिस बर्षपछिको: “टप टेन न्यूज”



संप्रस पौडेल दिवस

नमस्कार, टप टेन न्यूजमा स्वागत छ । हामी मकवानपुरको १००० औं नम्बरको रेडियो, केन्द्रीय कार्यालय ग्र्याण्ड पा एण्ड ग्र्याण्ड सन्स प्लाजा, मनकामना हिल तथा शाखा कार्यालय राइनहोल्ड शेर्पा निवासको बाइसौं तलाबाट बोलिरहेका छौं ।

अब यस हप्ताको मुख्य समाचारहरुः

) राजनैतिक सहमति अनुसार कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेल १७०० औं पटक चुनावी मैदानमा, यो हप्ता पनि हार्ने निश्चित, हार नखाएको उहाँको अभिव्यक्ति, आपूmले सत्ता पाए मरिगए राजिनामा नदिने र रेकर्ड तोडी गिनिज बुकमा नाम लेखाउने उनको अडान, राप्रपा नेपालका कमल थापालाई राजा राजा भन्दै नहिँड्न ज्ञानेन्द्र शाहको सुझाव, यता न उता मुलाबारी भित्ता भएकोमा थापाको पश्चाताप, भोली हुप्राचौरमा घोर पश्चाताप कार्यक्रम हुने ।

) राजेश हमालले ७० वर्षे उमेरमा बिहे गर्ने, अब पनि बिहा नगरे जवानी यसै जाने उनको धारणा, जवानीको भरपुर उपयोग गर्ने उनको योजना, वाद्यवादक टिम बेलायतबाट आउँदै, गायनतर्पm क्यानेडेली टिमलाई अनुरोध, हनिमुनका लागि हेटौंडा रिसोर्टको ब्लक नं. ७३७ को पच्चिसौं फ्ल्याट बुकिङ्ग भैसकेको जानकारी ।

) पेट्रोलको भाउमा व्यापक गिरावट, यो हप्ता प्रतिथोपा ७० रुपैयाँ मात्र, अघिल्लो हप्ता भएको मूल्य वृद्धिका कारण विद्यार्थीको आन्दोलनपछि सरकार राहत कार्ड वितरण गर्ने सोचमा ।

) नेपाली फिल्म बिफोर ट्वेण्टी फाइभ इयर्स एगो मा नाकको चुच्चो, तालु तथा पैताला र हत्केला देखाएकोमा सेन्सर बोर्डले ट्रेडिसनल फिल्मको सर्टिफिकेट दिँदै उक्त दृश्यहरु हटाउन निर्देशन दियो । विगतमा नेपाली फिल्ममा १०% भन्दा बढी अङ्गमा कपडा लगाउन नपाउने नियमको उल्लंघन भएको बोर्डको दावी ।

) काठमाण्डौ न्युरोडमा हिँडेर सफलतापूर्वक सडक पार गरी एउटी युवतीले गिनिज बुकमा नाम लेखाउन सफल, हेटौंडामा त्यसैको नक्कल गरी आधा बाटोसम्म सफल यात्रा गर्न खोज्ने एक युवकलाई ट्राफिकद्वारा चकलेट प्रदान ।

) संसारकै सबैभन्दा होचा व्यक्तिको रेकर्ड यो वर्ष पनि नेपालमै हुनेमा गिनिज बुक टिम ढुक्क । गिनिज बुकको आधिकारिक कार्यालय नेपालमै राख्न सके रेकर्डका लागि वर्षेनी लाखौं खर्चिनु नपर्नेमा बहस ।

) फेसबुकबाट सातवटै महादेश र पाँच वटै महासागरको यात्रा गर्ने पहिलो व्यक्ति नेपालका फ््रयाङ्क हुक कोइराला नेपाली दलित, उनका ड्याडी इटालियन हुन् भने ममी अफ्रिकन र उनले एक साता नेपाल बसे बापत नेपालको नागरिकता प्राप्त गरेका हुन् ।

) अमेरिकी सँस्था द म्यान विदाउट करप्सनले हालसालै गरेको सर्वेक्षणमा नेपालमा सबैभन्दा कम भ्रष्टाचार गरेका झुसे बारुलो निगमका कार्यकारी अधिकृत जिम्मी घिमिरे जैसी ब्राम्हण पण्डित (जातिय संघियता पछिको लोकतान्त्रिक नाम, थर र जात) नाम लेखाउन सफल । उनले यो महिनामा वन मिलियन डलर मात्रै विदेशी बैंकमा राखेको सँस्थाद्वारा खुलासा । स्मरण रहोस् अघिल्लो महिनामा उनले ट्वेण्टी बिलियन डलर अमेरिकी गरिब युवाहरुको समूह द पुअरेष्ट सोसाइटीलाई नेपाल सरकारको अनुमति नलिई प्रदान गरेका थिए ।

) राष्ट्रपति रामवरण यादव आफ्नो वयोवृद्ध उमेरका कारण राजिनामा दिने सोचमा, इतिहासकै लामो समय कामचलाउ रहेका प्रधानमन्त्री बाबुराम भट्टराई शान्ति र संविधान तथा सहमतिको लागि आग्रह गर्दै । भारतीय राजदुतद्वारा ७३७ वटै दलहरुका शिर्ष नेताहरुसँग भेटघाट, नेपालमा संविधान नबनेकोमा भारतको चिन्ता व्यक्त । माओवादीमा वैद्य पक्षको अर्को बयालिसौं पार्टि पनि विभाजनको सँघारमा । मूख्य जिज्यूबाउ पार्टी अध्यक्ष पुष्पकमल दाहालको बधाई ।

१०) हेटौंडा उद्योग वाणिज्य संघद्वारा फुटपाथ बजार हटाउने निर्णय, यो २२२२ औं निर्णय भएको अवसरमा लड्डु बाडिँदै । मकवानपुर जिल्लाका क्याम्पसहरुका शिक्षकहरुले गरेको एक सर्भेक्षणले कपाल छोटो पार्ने विद्यार्थी भन्दा ड्रेडलक गर्ने विद्यार्थीहरु पढाइमा तेज भएको प्रतिवेदन सार्वजनिक, क्याम्पसले नियुक्त गरेको नाइ (हजाम) लाई जागिरबाट अवकाश । रजैयादर्दरा जोड्ने झोलुङ्गे पूलको निर्माण कार्य द्रुतस्तरमा, छब्बिस बर्ष अघिदेखि बनिरहेकोमा अब केही बर्षमै सम्पन्न हुने जि.वि.स. मकवानपुरको धारणा । मनहरी र राप्ती खोलामा माछा भेट्टाइयो, स्थानीय नेताहरुको खेत र कर्रा खोला जोड्ने अर्को पूल निर्माण कार्य सम्पन्न, सेते घर्तिद्वारा शिलान्यास । हरिया साडी र सर्ट लगाएर वातावरण दिवस धुमधामका साथ मनाइयो । विगतका हरिया रुखहरुको वृहत फोटो प्रदर्शनी हुने । बुद्ध चोकमा मैनबत्ति फ्याक्ट्रि खोलियो, हरेक कार्यक्रमका लागि मैनबत्ति बाल्न टाढा जानु नपर्ने उद्योग मालिकको धारणा ।

यस हप्ताको टप टेन न्यूज सकियो, आगामी साता फेरि भेट्ने नै छौं । नमस्कार ।
www.facebook.com/nepali.sampraspaudel (समय चित्रण साप्ताहिक २०६९ असार)

No comments:

Post a Comment

तपाईँलाई यो सामग्री कस्तो लाग्यो ? कृपया कमेन्ट गर्नुहोस् ।

च्वास्स २