Monday, April 29, 2013

मिडियाको अनुसन्धान ।



संप्रस पौडेल दिवस

हामी नेपालीहरु नाता जोड्नमा माहिर छौं । पश्चिमा देशहरुमा १६ बर्षको उमेर पुगेपछि छोराछोरीलाई स्वतन्त्र छोडिन्छ । नातागोता आफ्नो आफन्तको जञ्जालभन्दा जतासुकै जाने स्वतन्त्र हुन्छ रे । हामी नेपालीहरु चाहीँ भएसम्म बाबुपट्टिका तेह्रदिने, तीनपुस्ते, सातपुस्ते, त्यसपछि आमा वा मामाघरपट्टिका, अब ससुरालीपट्टिका त्यसपछि मित साइनोपट्टिका र त्यतिले पनि नभेटे गोरु बेचेको पट्टिका नाता लगाएर सबैलाई आफ्नो ठान्छौं । आफ्नो ठान्नु त गर्वको कुरो, नाताभित्रको मानिस भन्दै हक अधिकार नै ठान्दै त्यसको सातपुस्ते र समुन्द्र पारीको नातासम्म कोट्याएर कुरा काट्ने खुरापाती बानी हाम्रो मौलिकता हो भन्दा अत्युक्ति नहोला कि । पछिल्ला दिनमा हाम्रा नाम चलेका मिडियाहरुले वास्तविकता भन्दै भूmठको तमासा देखाएका छन् ।

केही मिडियाकर्मीलाई नाम नखुलाई गाली गरौं, जो कोठामा बसेर समाचार लेख्छन्, गाउँठाउँ र घटनास्थलमा नगई सत्यतथ्य निस्पक्ष समाचार थाहा पाउँदैनन् तिनले विश्वस्त श्रोत भन्दै समाचार लेख्छन्, जनताले विश्वस्त श्रोत भन्ने बित्तिकै यो मिडियाले कोठामा बसेर खुराक बनाएछ भन्ने बुझौं ।

अब  कुरै काट्न परेपछि नेपालीपन झल्काउँदै केही थरहरु बारे चियोचर्चो गरौं:

वेदी, द्विवेदी, त्रिवेदी, चतुर्वेदी बारे अनुसन्धान गर्दा: एक वेदका ज्ञाता वेदी, दुई वेदका ज्ञाता द्विवेदी, तीन वेदका ज्ञाता त्रिवेदी, चार वेदका चतुर्वेदी भए सुवेदीलाई के भन्ने ?

आफ्नै थर पौडेल बारे अनुसन्धान गर्दा: एउटा मानिस खोलामा पौड्दै गर्दा पाखामा बस्नेले पौड्यो ल, पौड्यो ल भन्दा भन्दै पौडेल भएको हुनुपर्छ भन्ने यो स्तम्भकारको आफ्नो तर्क छ । नेपालका पौडेल, पौड्याल र भारतका पडुवालहरुबीच नाता खोजियो भने कतै न कतै पक्कै जोडिएला ।

रावल, राई, दराई थर बारे: भन्न त भनिएको छ, बलिउड फिल्मकर्मी परेस रावल र एमालेका नेता भीम रावलबीच काका भतिजको नाता छ रे । रावल, राव र राय र नेपालका राई, दराई, दरै जातीबीच पक्कै घनिष्ट सम्बन्ध हुनुपर्छ । यस्तै भट्टराई थर पनि बाबु र आमाका थर भट्ट र राई जोडिएर बनेको हुनुपर्छ । ऐश्वर्या रायलाई गोपालमान राईकी बहिनी मानौं ।

नेम्वाङ र निगमबीच नाता: संविधान सभाका पूर्व सभामुख सुवास नेम्वाङ र सोनु निगमबीच पनि नाता लगाउन सकिएला ।

भुषाल र भोस्लेबीचको नाता: गायिका आशा भोस्ले र यहाँका भुषालबीच नाता बारे खोज अनुसन्धान गरिएला ।

याग्मी र यमिबीच नाता: बलिउड गायिका अलका याग्मी र ने.क.पा. माओवादी पार्टीकी नेतृ हिसिला यमीबीच कतै न कतै नाता जोडिएको हुनुपर्छ ।

बाराक ओबामा पनि नेपाली: अमेरिकी राष्ट्रपति बाराक ओबामालाई कसरी नेपालीको पगरी गुथाउने भन्नेतिर सोच्ने हो भने उनलाई नेपालको बारा जिल्लाबाट गएको मानौं । अनि ग्रिनकार्ड पाएको एउटा नेपाली ठिटोले बाराबाट गएको अर्को ठिटोलाई मामा भन्दा बाराक ओबामा भएको मानौं भन्ने हास्यकलाकार मनोज गजुरेलको तर्क छ ।

यस्तै ढुंगाना र ढुंगेलको पूर्खा एउटै हुनुपर्छ, ढोडारी र ढकाल वल्लो पल्लो गाउँका हुनुपर्छ । कुमाल र रखाल खोला वारीपारीका दाजुभाई हुनुपर्छ । मगरहरुमा स्याङ्जामा बस्नेलाई सिन्जाली भनेको हुनुपर्छ । मधेशमा बस्ने मधेशी झैं पहरामा बस्ने पहरी वा पहाडी हुनुपर्छ । शेरचन, तुलाचन, गौचन, भट्टचन र भारतीय अभिनेता अमिताभ बच्चनको पुर्खा एउटै हो भनी यसअघि नै पत्रिका र मिडियामा व्यंग्य प्रकाशन, प्रशारण भएका छन् । कतिसम्म भने नाम चलेका टि.भि. च्यानल र राष्ट्रिय दैनिकहरुले यस्ता मिल्दाजुल्दा थरहरुलाई जोडेर विश्वका सबै मानिसलाई इतिहासमा पहिला नेपाली भएको भनी अनर्गल प्रचार गरे ।

नेवारभित्र बत्तिस जात छन् । ब्राह्मण, क्षेत्रीभित्र पनि कैयन् थर छन् । त्यस्तै तामाङ्गहरुमा आआफ्नै मौलिक थर छन् । मानिसको अन्तर्राष्ट्रिय जाति मान्ने हाँस्यकलाकार मनोज गजुरेलको गजुरियल सिद्धान्तलाई मैले पनि पत्याएँ । यसैले तपाइ हाम्रा जात थर भाषा भेषभुषाका नाम यसैगरी आएको हुनुपर्छ । सबैका आफ्नै तर्क र विश्लेषण होलान् । समग्रमा भाषा हाम्रो पहिचान हो । सँस्कृति र परम्परा, जात हाम्रो चिनारी । खास हामी नेपाली । सत्य मर्दैन, डेरा सर्दैन । हाँस्दै गर्नुस् । आउँदो हप्ता नयाँ विषयमा भेटौंला । अस्तु ।  www.facebook.com/nepali.sampraspaudel  

No comments:

Post a Comment

तपाईँलाई यो सामग्री कस्तो लाग्यो ? कृपया कमेन्ट गर्नुहोस् ।

च्वास्स २