Monday, April 29, 2013

बेथितिको हुइयाँ



संप्रस पौडेल दिवस
आज देशको रुपै फेरिएको छ । धेरै कुराको सर्टेज छ, धेरै कुरा छ्यास्छ्यास्ती छन् । हिजो जताततै तरुनीको ताँती हुन्थ्यो । आजकल ३५ बर्षे उमेरसम्म केटी नपाएर बिबाह नै अबरुद्ध भएका बुढा केटाहरु बढेका छन् । १२ हप्तासम्मको सुरक्षित गर्भपतन भनेपनि गैरकानूनी रुपमा पहिचान गर्दै छोरीको गर्भमै हत्या गरिएको छ । त्यसैले हिजो यो व्यंग्य झटारो काफी थियोः

हेर हेर नेपालमा के अन्याय, साहुजीका छोरी पनि बुढी कन्या (आदरणीय शम्भु दाहालबाट साभार)

आज देशले धेरै कुरामा फड्को मारेको छ । त्यसैले अब केटा नपाएर बुढी कन्या हुनेभन्दा केटी नपाएर बुढोकन्या हुनेको संख्या बढ्नेवाला छ । किनकी देशको जनसंख्यामा महिलाको संख्या पुरुषकोभन्दा सैतिस लाखले कमी छ । यो क्रम बढ्दो छ ।

आजकल खानपान, रितिरिवाज, चालचलन, हेर्ने फिल्म र कपडा सबै फेरिएका छन् । त्यसैले एउटा झटारो हानुँ:

आजै त यस्तो छ, के हुने हो भोली ?
लाउन थाले केटीहरु उध्रिएको चोली ।

यो जमानाको माग पनि हो । हाम्रा हजुरआमा, आमाहरु कपालमा चपक्क तोरीको तेल हालेर आधी थाप्लोसम्म सिन्दुर रंगाएर रातो धागोले बाट्दै हिँड्थे । आजकल सिन्दुरको सट्टा सिरुपाते लेग्मी लगाइन्छन्, त्यसैले विवाहित र अविवाहित छुट्याउने आधारनै भेटिँदैन । अनी विवाहितलाई केटाहरुले जिस्काए भनेर कसरी भन्ने ? आजकल मोर्डन हुन छोटा छोटा पहिरन, खानपानमा फरक, हिँडाईमा बिरालो चाल (क्याट वाक), कपाल रातो, पहेँलो, हरियो इत्यादि छन् । त्यसैले यसमाथि एउटा झटारो हानुँ:

कपाल रातो हरियो छ, नहुने भो कालो, पुग्नेगरी लाउँदैनन् लाजै छोप्ने टालो ।
बुझ्नै पनि नसक्ने के हो चालो मालो, नातिनीको पाइन्ट लाउने हजुर्माको पालो ।

केटाहरुमा पनि नयाँ ट्रेण्ड छ । कपाल ड्रेडलक गर्नु, लुगा च्यातिएको लगाउनु नै आधुनिक दुनियाँको हिपहप स्टाइल । आजकल गुरुत्वाकर्षण बल पनि आकाशतिरबाट बढ्दो छ । त्यसैले जन्मदै कपाल आकाशतिर फर्किन्छन् । घाँटि हेरी हाइनेक किन्नु भन्ने उखान भैंm आफ्नो हैसियत र नैतिकता नै उधारेर च्यातिएको कपडा र बैरागी कपालमा हिँड्ने युवाको बेथितिमाथि एउटा झटारो:

च्यातिएको पाइन्ट महंगो छ धेरै, त्यही किन्दिनु ड्याड्स भन्छ छोरा मेरै ।
नकिनेमा कच्याककुच्चुक पार्दिन्छु पो भन्छ, शहर छोडी विकट डेरा सार्दिन्छु पो भन्छ ।

नपाउनेले काँक्रो पायो चियामा चोबेर खायो भनेभैंm आजकल साथमा बाइक हुनेले पछाडी तरुनी टाँसेर च्याप्प सँस्कृति को विकास गरेका छन् । बाइकमा दुइजना एउटै भएर च्याप्प टाँसिने संस्कृतिमाथि एउटा झटारो:

दश मिनेटको बाटो बाइक चढ्ने बानी, ड्राइभरसंग कस्सिएर च्याप्प टाँस्ने नानी ।
मरे गैगो जीवन, बाँचे मनोमानी, बिस्तारै हाँक् भन बेबो जाला जवानी ।

यस्तै यो शहरमा च्याउ सरह बोर्डिङ्ग स्कूल खुलेका छन् । हुन त चिनियाँ उखान माछा समात्न नजान्नेले गंगटा समात्छ भनेभैंm डाक्टर र इञ्जिनियर नै नभए पनि भविष्यमा बोर्डिङ्ग स्कूलका तीनहजार तलबी शिक्षक भने पक्का हुने छन् । वल्लो टोल, पल्लो टोल, चार घर माथ्लोपट्टि, तीन घर तल्लोपट्टि जताततै बोर्डिङ्ग नै बोर्डिङ्ग खुलेपछि केहीले त्यस विषयमा झटारो हान्नोस् न भनेपछि उहाँहरुको आग्रहमा एउटा झटारो:

दुई मिनेटको बाटो गाडी चढ्नैपर्ने, एक कक्षामा पुग्न तीन साल पढ्नैपर्ने,
प्रिन्सिपलको तलब तीस हजार हुँदा, एक शिक्षकको तीनहजार तेह्र चोटी रुँदा ।

बोर्डिङ्ग स्कूलको गुणस्तर खस्कँदो छ । बर्षेनी हजारौं खर्चेर बोर्डिङ्ग पढाउँदा पनि जसोतसो फस्र्ट डिभिजन मात्र आयो भन्ने अभिभावकको आरोप छ । पढाउनेले के र कसरी पढाइदिने, शिक्षकमाथि के कस्ता सुविधा दिने, सुगा रटाईभन्दा मनोवैज्ञानिक शिक्षामा कसरी जोड दिने ? त्यसतर्फ विचार नगर्दा धेरै अभिभावक रुष्ट छन् । मेरो अर्ति मान्नुहुन्छ भने तलब कम दिँदा टाइगर माने बिरालो पढाइदिनोस् मास्टरसाब । त्यसैले राजाको काम चारैतिर बदनाम भएका बोर्डिङ्ग स्कूलमाथि अर्को झटारो:

तीन हजारको तलब स्कुटी छ उनको, पुग्दो छ तलब भन्छिन्, सोझो होला नुनको ।
छबाट पाँच घटाउँदा कति हुन्छ गन्दा, छोरा भन्छ जिरो बाबा, गोलो गोलो अण्डा ।

आजकल बजारमा हजार रुपियाँको चिठ्ठा पर्दा पाँच हजारको पार्टी दिने चलन छ । यस्तो घाटा बजेटमाथि एउटा झटारो:

हजारको चिठ्ठा, पाँचहजारको भोज, पैmलेको छ शहरमा मनिमेनिया रोग ।
जसको छैन कमाई उसकै ठूलो धाक, देखाउँनमा रवाफ, खानलाई एक छाक ।

पैसाको सपनाले वीदेश छिर्नेहरु ह्वात्तै बढ्दैछन् । देशको मायाँ स्वदेशमा हुनेलाई भन्दा आफूलाई मात्रै लाग्ने गरेको बताउने बिर्खेलाई आफू मात्र वीर गोर्खाली भएको भान परेपछि ऊमाथि एक झटारो:

शहर पसी स्याल पनि भयो कोर्काली,
देशमा पाइलै नहुने चै ज्यादा गोर्खाली ?

नेताको मति बाह्र बर्ष ढुंग्रामा हाले पनि बांगाको बांगै भनेभैंm जनताबाट यस्तो बेथितिको हुइयाँ कहिले अन्त्य हुने हो ? काउकुती लगाएर भए पनि हाँस्नोस् । अस्तु ।
www.facebook.com/nepali.sampraspaudel (समय चित्रण साप्ताहिक, श्रावण)

No comments:

Post a Comment

तपाईँलाई यो सामग्री कस्तो लाग्यो ? कृपया कमेन्ट गर्नुहोस् ।

च्वास्स २