Monday, April 29, 2013

लुतो विरुद्धको दिवस



संप्रस पौडेल दिवस

आज साउने संक्रान्ति, अर्थात् लुतो फाल्ने दिन । आज बेलुका दाउराको आगो बालेर त्यसमा हरियो कुरिलो बालेर पड्काउँदै, नाङ्लो ठोकेर मेरो लुतो लैजा है भन्दै घरको चारैतिर अगुल्टो फ्याँक्ने परम्परा छ । हुन त यस्ता परम्परा दुर्लभ मात्र हैन लोपै हुन लागिसके तैपनि हिङ्ग नभए पनि हिङ्ग बेरेको टालो छ भने जस्तो परम्परा कहीँ कतै गाउँठाउँ र पहाडमा यथावतै छ ।

वास्तवमा लुतो हाम्रो राष्ट्रिय रोग हो । यो अन्तराष्ट्रिय होइन, यस मानेमा कि लुतो फाल्ने दिन वा भनौं लुतो दिवस नेपालमा मात्र मनाइन्छ । यसका लागि राष्ट्रसंघसंग सहकार्य गरी अन्तराष्ट्रिय लुतो विरुद्धको दिवस मनाउनै पर्ने भएको छ । नेपालमा भएका विसंगतीलाई हेर्ने हो भने लुतो हाम्रो राजनीति हो । लुतो हाम्रा सभासद हुन् । लुतो हाम्रा टाउके नेता र तात्तोन छारोको राजनीति सिकाउने कार्यकर्ता हुन् भन्दा कसैले होइन भन्यो भने त्यसलाई लुतोले ज्यादै सताएको मान्नुपर्ला । लुतोलाई त्यसै लुतो भनिएको पक्कै होइन होला । यसका पनि कारण र परिणामहरु छन् । हुन त लुते भनेर दुब्लो र ख्याउटे मानिसलाई सम्बोधन गरिए पनि लुतो रोग लागेको मोटा वा दुब्ला सबैलाई सम्मानपूर्वक बोलाइने आदरार्थी वा शरणार्थी शब्द नै लुते हो भन्दा अत्युक्ति नहोला ।

लुतो शरीरको सार्वजनिक ठाउँमा भन्दा व्यक्तिगत स्थानमा बढी आउने खालको रोग भएकोले पनि यसलाई कसैकसैले लाजको रोग पनि भन्दछन् ।

यतिखेर राजकुमार लामिछानेको लुतो फालौं भन्ने कविता साभार गर्न मन लाग्यो ः
लुतो फालौ

पोहोर पनि त अलछिना लुतो फालेकै हो
लुतोको नाममा एक भारी दाउरा बालेकै हो
त्यही बर्ष झन लुतो आङ भरि आयो
देखाउनै नमिल्ने गरि जाङ भरि आयो
शरीर पुरै चिलाई चिलाई खायो
रगत र मासु मिलाई मिलाइ खायो
जति फाले नी आईरहदा
बिस्तारै बिस्तारै खाईरहदा
सन्चो मानेर कतिन्जेल कन्याइ रहने
यसैमा बजेट कति खन्याइ रहने
त्यसैले खरानी हुने गरि बालौ
यस बर्ष पनि लुतो फालौ ।
  अन्तमा पाठकहरुमा लुतो विरुद्धको दिवसको शुभकामना www.nepalsambad.com  
मितिः २०६९ श्रावण १ पुनरावेदन अदालत हेटौंडा

No comments:

Post a Comment

तपाईँलाई यो सामग्री कस्तो लाग्यो ? कृपया कमेन्ट गर्नुहोस् ।

च्वास्स २