Monday, April 29, 2013

उनको चुनावी कार्यतालिका, मेरो कथा



-संप्रस पौडेल दिवस

संविधानको काम दुइ वर्ष अघि नै असी प्रतिशत सकिएको भनिएकोमा बीस प्रतिशतले नै उल्टाइदियो । कहिलेकाँही उनान्सय प्रतिशतले हारिन्छ, एक प्रतिशतले जितिन्छ राजनीतिको झेलमा । संविधान सभा भङ्ग गर्नुमा कोही माउ नेताहरुको अकर्मन्यता भन्छन् त कोही माओवादीको बहुमत पाउने बहुलठ्ठीपन । यसैले भट्टराइ सरकारकै भाषामा उनले गरेका ऐतिहासिक र बहादुरी निर्णयलाई व्यंग्य गर्नुपर्दा लाज छोप्ने कट्टु फुकालेर मुख छोपेको भन्नुपर्ला ।

असार सकिनै लाग्दासम्म राजधानीबाट उडेर गएको सहमति नामक चरो फर्किएर आएको छैन । दलबीच सहमति नै भएपछि के के न लछारौंला भन्दाभन्दै बर्षौ बिते । एक हुनुपर्नेहरु टुक्रा टुक्रा भए, टुक्राहरु अणुबाट परमाणु भैंm चोइटिए, त्यसैले समूहभन्दा व्यक्तिको नाममा दलको नामाकरण भयो । जस्तो ः यादव खेमाका माओवादी, वैद्य खेमाका माओवादी, प्रचण्ड खेमाका माओवादी । सद्भावना र मधेसी जनअधिकार फोरमका त कति चोइटा कति । हालसालै माओवादीभित्र खिचडी खान नपाएको निहुँमा एक झुण्ड चोइटिएको छ, त्यस्तै म.ज.फो. फेरि चोइटिएको छ । यो लेख लेख्दै गर्दा अर्को कुनै दल चोइटिरहेको हुनसक्छ । चोइटिने बेलामा ठीक विपरीत सहमतिको ढोल ठोकेर निर्वाचन गराएरै छाड्छु भन्ने भट्टराइको कार्यतालिकालाई मेरो व्यक्तिगत विश्लेषणवादमा यसरी पस्केको छु:

श्रावण पहिलो साता: भारतीय राजदुतसंग चिया कार्यक्रममा भेटघाट, विप्पा सम्झौता बारे व्यापक छलफल ।

श्रावण दोश्रो साता: अन्तराष्ट्रिय सम्मेलन केन्द्रमा चिनियाँ चमेलीसंग भेटघाट, परिवारसंग चिनिया सँस्कृति झल्कने नाच हेर्ने, नेपालमा चलिरहेका अश्लिल भनिएका फिल्महरु कत्तिसम्म अश्लिल रहेछन् थाहा पाउन हलमै गएर नाइट शो हेर्ने ।

श्रावण तेश्रो साता: युरिया मल नआउँदा कृषक आन्दोलन चरमोत्कर्षमा । किसानले अगुवा बनाएर पठाएका किसानले जो अगुवा, उही बाटो कुन्नी के गर्दा सास्ती खेपेपछि आन्दोलन फिर्ता हुने ।

श्रावण चौथो र अन्तिम साता: सहमतिको च्यादर ओढ्दै शुशिल कोइराला, रामचन्द्र पौडेल, शेरबहादुर देउवा तथा माधवकुमार नेपाल, झलनाथ खनाल, वैद्य खेमाका गजुरेल लगायत नेताहरु प्र.म. निवासमा आउने ।

भाद्रको पहिलो साता: अघिल्लो महिना सहमति भएका बुँदामध्ये बुँदा नं. १ मा पुनर्विचार गर्नुपर्ने कांग्रेसको अडान, बुँदा नं. २ मा सच्याउनुपर्ने एमालेको हठ, बुँदा नं. ३ लाई खारेज गर्नुपर्ने न्यू म..फो. चोइटा नं:. ४ को जिकिर, बुँदा नं. ५ लाई कसैगरे पनि नमान्ने माओवादीको चोइटा नं:. (वैद्य पक्ष) को विचारपछि भट्टराई सरकारले सबै सहमति खारेज भएको घोषणा गर्ने ।

भाद्र दोश्रो र तेश्रो साता: निर्वाचन आयोगका पदाधिकारीसंग भेटघाट, मंसिर ७ गते निर्वाचन हुनेमा कामचलाउ प्र.म. ढुक्क ।

भाद्र चौथो साता: भट्टराई परिवार राष्ट्रपतिलाई आएको निम्तो आपूmमा सारेर न्युयोर्क भ्रमणमा जाने, मानुषीको जिद्दीका कारण पाँचौ साता पनि उतै बिताउने ।

आश्विन पहिलो साता: भट्टराई सरकार स्वदेश फिर्ता, रेवन ग्लास, अमेरिकी सुट, कंगारुको छालाबाट निर्मित जुत्ता, टाइ र ह्याटमा सजिएर अन्तराष्ट्रिय विमानस्थल उत्रँदा स्वागत गर्न बसेकाहरु र क्यामेरा पर्सनले नचिनेर सिधै बालुवाटार आई जनताका नाममा सहमतिको पोको बोकेर आएको भनी सहमति गर्नोस्, कुर्सी लिनोस् नामको चिठ्ठा योजना सार्वजनिक गर्ने ।

आश्विन दोश्रो र तेश्रो साता: अरबी राजकुमारसंग भेट । नेपालमा लगानी गर्ने उनको योजना राजनैतिक दल र सरकारको कारण सुरक्षित र ढुक्क नहुने भनी भट्टराइले जुवा खेलेको भनिने बिप्पाभन्दा ठूलो लोप्पा खुवाएपछि प्र.म. द्वारा प्रेश विज्ञप्ती जारी गर्ने ।

आश्विन चौथो र पाँचौ साता: सहमतिका लागि देशभरका भ्रुण शेचन भएका, जन्मदै गरेका, जन्मेका, युवा र वृद्ध तथा माउ पार्टिहरुसंग वार्ता प्रारम्भ । हप्तैभर काठमाण्डौ उपत्यकाका ८ र पोखराका २ तारे होटलहरु बुकिङ्ग गर्ने ।

कार्तिक महिना: यो महिना भर देशभरका जनता, कार्यकर्ता र नेतागण दशैं तिहार जस्तो महान चाडमा व्यस्त हुने हुँदा कुर्सी समय लम्ब्याउन कुनै सहमति र निकाशको झारा आवश्यकता नपर्नेमा प्र.म. ढुक्क हुने ।

मंसिर १ गते: निर्वाचन आयोगसंग अन्तिम चरणको छलफल गर्ने । चुनाव गर्न तम्तयार हुन निर्देशन ।

मंसिर २ गते: कांग्रेसका वयोवृद्ध नेता शुशिल कोइरालासंग भेटघाट, उमेरका कारण सहमति खोज्न गाह्रो परेको विचार व्यक्त गर्ने ।

मंसिर ३ गते: कांग्रेसका देउवा र पौडेलसंग भेटघाट, आपूmले हारेरै भट्टराइलाई जिताएको कुरा पौडेलले संस्मरण गराउने ।

मंसिर ४ गते: एमालेका माधव नेपाल, केपी ओलीसंग भेटवार्ता । केपीको कटाक्षले आपूm मर्माहत भएको कुरा प्र.म.ले बताउने ।

मंसिर ५ गते: चीनियाँ राजदुतसंग भेटघाट कार्यक्रम राख्ने । सोही दिन आउँदो चुनावका खर्च जुटाउन विदेशी नियोगसंग छलफल गर्ने ।

मंसिर ६ गते: रातको १२ः०० बजे भारतीय राजदुतसंग गोप्य वार्ता गर्ने ।

मंसिर ७ गते: बिहानको ७ः०० बजे चुनावको मिति अर्को ६ महिनाका लागि सार्ने निर्णय गर्ने ।

सत्तासिन बाहेक सम्पूर्ण दलका नेताहरु राष्ट्रपतिसंग सल्लाह गर्न र केही कदम चाल्न अनुरोध गर्न सितल निवास जाने, राष्ट्रपतिले आफू सामान्य किसानको छोरा र सानामा भैंसी चराएको कथा सुनाउने । सहमती भन्या यस्तै हो । चुनावी कथा सकियो । अस्तु ।
www.facebook.com/nepali.sampraspaudel (समय चित्रण साप्ताहिक २०६९ असार २४,) (समय चित्रणमा प्रकाशित यसै लेखपछिका लेखहरुले मलाइ व्यवसायीक लेखक बनायो)

No comments:

Post a Comment

तपाईँलाई यो सामग्री कस्तो लाग्यो ? कृपया कमेन्ट गर्नुहोस् ।

च्वास्स २